डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

जुलाई १ शनिवार बसेल्समा सम्पन्न नेपालका शुभेच्छुकहरूको एक भेलाले नेपाल-बेल्जियम मैत्री सँघ (Nepal-Belgium Friendship Association- BNFA) लाई पुनर्जागृत गर्दै डा. लुक बोकुरको अध्यक्षतामा तदर्थ समितिको गठन गरेको छ । डा. बोकुर नेपालमा चेपाङहरूको हितमा कृयाशील व्यक्तित्व हुन् ।
समितिको उपाध्यक्षमा श्रीमति हिल्द बोम्स, कोषाध्यक्षमा रवीन्द्र श्रेष्ठ र सचिवमा रोजर द ग्रोन (नेपालका अवैतनिक कन्सुलर) चयन भएका छन् । त्यस्तै भिक्टर द हाएस, रोनी द रोक र योहान स्कट कार्यकारिणी सदस्य रहेका छन् ।
सन् १९७३ मा गठित BNFA सन् २००९ देखि निस्क्रिय रहेको थियो । नेपाल र बेल्जियममा बसोबास गर्ने नेपालीहरूको हितमा काम गर्ने उद्देश्य संस्थाको रहेको छ । ब्रसेल्सका निम्ति लोकबहादुर थापा आवासीय राजदूत नियुक्त भएर आएपछि यसले पुनर्जागरण पाएको हो ।