मलेसियाबाट १८ नेपालीको उद्दार

सरकारी प्रयासमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्दार गरिएको छ।

व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको हो।

सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि वैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको प्रमको निजी सचिवालयले जनाएको छ। १८ नेपालीको उद्दारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो।

उद्दार गरी नेपाल ल्याइएका नेपालीमा बाँकेका शानबहादुर बुढा मगर, खोटाङका ईश्वर विक, रामेछापका लाक्पा छिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुंगका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फडिन्द्र बहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञान बहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जयकुमार नाउ रहेका छन् ।