मारुनी नाचेर मन्दिर निर्माण

लोपोन्मुख अवस्थामा रहेको मारुनी नाच देखाएर युवाद्वारा सङ्कलित रकम सामाजिक कार्यमा लगाइने भएको छ ।maruni

मगर समुदायमा प्रचलित लोकप्रिय मारुनी नाच फोक्सिङकोट रानीवासका युवाले संरक्षण गर्ने उद्देश्यले शनिवार गाउँमा देखाइएको थियो । नाचबाट सङ्कलित रकमले चुर्कीथानमा सिद्धबाबा मन्दिर निर्माण गरिने भएको छ ।

यसवर्ष मारुनी नाचबाट रु ४८ हजार ६४९ रकम सङ्कलन भएको मारुनी नाचका रौरा नरबहादुर सिंजालीले बताए । विशेष पर्व र सामाजिक, धार्मिक कार्यमा देखाइने मारुनी नाच मङ्सिरे पूजा सकिएपछि सरस्वतीको पूजा गरेर नाच सेलाउने चलनअनुुसार यस वर्षलाई नाच बिसाइएको स्थानीय एवत सारुले जनाए ।

रानीबासको ठूलो पिपर पोखरीमा सरस्वतीको थान बनाई रानीवासका स्थानीयले पूजा गरेपछि मारुनी नाच बिसाउने प्रचलन छ । रानीवासका युवाको सक्रियतामा दसैँको कोजाग्रत पूर्णिमा, तिहारको भोलिपल्ट, हरिबोधनी एकादशी, मङ्सिरे पूजाका दिन र सामाजिक, धार्मिक कार्यमा मारुनी नाच देखाइने गरिन्छ ।

जिल्लाका ३० भन्दा बढी गाउँ विकास समितिका मगर समुदायमा प्रचलित मारुनी नाच बढ्दो आधुनिकताले पछिल्लो समय लोप हुँदै गएको छ । विवाह, पास्नी, धार्मिक तथा सामाजिक कार्य, विभिन्न कार्यक्रममा गाउँका युवालाई साडी, चोलो, फरिया कण्ठ, पाउजु, पटुकी लगाई सिङ्गारपटार गरी मारुनी नाच देखाइने गरिन्छ । मारुनी नाचका मुखियालाई रौरा भनिन्छ ।

मारुनी नाचबाट सङ्कलन भएको रकम गाउँका खानेपानी योजना मर्मत, सडक मर्मत, शिशु शिक्षा भवन र सामुदायिक भवन निर्माण तथा मर्मतलगायत विकास निर्माणका कार्यमा खर्च गर्ने गर्दछन् ।