कांग्रेस नेता शेरबहादुर देउवा बेलायतमा, बेल्जियम पनि जाने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा स-परिवार बेलायत आइपुगेका छन । श्रीमति आरजु देउवा र छोरा जयबीरसंगै मंगलबार देउवा लण्डन आइपुगेका हुन ।

Deuba in UKमंगलबार साँझ जेट एअरवेजको विमानबाट लण्डनको हिथ्रो विमानस्थलमा ओर्लिदा देउवालाई यहाँस्थित नेपाली दुतावासका अधिकारी र बेलायत कांग्रेसका नेता कार्यकर्ताले स्वागत गरे । देउवाको स्वागतका लागि कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री, विभाजित कांग्रेस बेलायतका दुवै अध्यक्षहरु लोक गुरुंग र चेतनाथ खनाल, नेविसंघ बेलायतका अध्यक्ष उमेश भण्डारीसंगै दुई दर्जन कांग्रेसी नेता कार्यकर्ता हिथ्रो पुगेका थिए ।

विमानस्थल पुगेका नेता कार्यकर्ताले जारी संविधान निर्माण प्रक्रिया, गोर्खाहरुको आन्दोलन र एनआरएनको दोहोरो नागरिकतासम्बन्धी मागका बारेमा देउवासग जिज्ञासा राखेका थिए । जवाफमा लामो उडानबाट आएकाले थाकेको भन्दै देउवाले लामो जवाफ नदिएपनि तोकिएको समयमै संविधान बन्नेमा ढुक्क हुन आग्रह गरेका थिए ।
योर्कशायरस्थित एक विश्वविद्यालयमा अध्ययन सुरु गर्दै गरेका छोरा जयबीरलाई पुरयाउन देउवा दम्पति यहां आएका हुन् ।

दुई साता लामो बेलायत बसाइका क्रममा देउवाले बेलायत कांग्रेस तथा अन्य संघसंस्थाले आयोजना गर्ने केही कार्यक्रममा पनि भाग लिने कार्यक्रम छ ।
त्यसवाहेक अक्टोबर ६ मा बेल्जियमा हुने पार्टीको एक कार्यक्रममा पनि देउवा सहभागी हुनेछन । बेल्जियमको कार्यक्रमपछि बेलायत फर्किने र अक्टोबर ८ तारिखमा यहांबाटै नेपालतिर लाग्ने उनको कार्यक्रम छ ।