बलिउडका चार महंगा हिरोइनहरू

deepika_padukoneबलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन्- दीपिका पादुकोण। फिल्म करिअरको सात वर्षमै यी २९ वर्षीया अभिनेत्रीले आफूलाई सफलताको शिखरमा पुर्याएकी छिन्।
बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री दीपिकाले सञ्जय लीला भन्सालीको फिल्म ‘बाजीराव मस्तानी’का लागि नौ करोड भारु लिएकी छिन्। अहिले उनी यही फिल्मको छायांकनमा व्यस्त छिन्।
सन् २००७ मा शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मा काम गरेर दीपिकाले बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनले ‘रेस–२’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नई एक्सप्रेस’, ‘गोलियोँ’लगायत सुपरहिट फिल्ममा काम गरिसकेकी छिन्। गत वर्ष मात्रै उनको ‘फाइन्डिङ फेनी’ र ‘ह्याप्पी न्यू इयर’ गरी दुइटा फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेका थिए। दीपिकालाई फिल्ममा लिनु नै फिल्म हिट बनाउन पर्याप्त छ भन्ने छाप बलिउडमा परेको छ, जसकारण उनको मोल दिनदिनै बढिरहेको छ।

katrina_kaif_बलिउडमा अहिले सर्वत्र प्रशंसा गरिएकी र धेरै दर्शकले मन पराएकी अभिनेत्रीमा पर्छिन्- कटि्रना कैफ। उनी बलिउडकी दोस्रो महँगी अभिनेत्रीमा पर्छिन्। एउटा फिल्मका लागि उनले साढे पाँचदेखि छ करोड भारु लिने गरेकी छिन्।

३० वर्षीय कटि्रना अभिनीत फिल्म ‘धुम–३’ले बक्स अफिसमा धमाका मच्चाउँदै विभिन्न रेकर्ड कायम गरेको थियो। उनको पछिल्लो फिल्म ‘ब्याङ–ब्याङ’ले पनि बक्स अफिसमा राम्रो नतिजा ल्यायो। यो फिल्मका लागि उनले निकै मोटो रकम लिएको बताइएको छ। उनले फेसन शो र मोडलिङबाट पनि मनग्गे कमाउने गरेकी छिन्। अहिलेसम्म उनले करिब साढे ६५ करोड भारु कमाइसकेकी छिन्।

kareena-kapoorबिहे गरेपछि अभिनेत्रीहरूको करिअर ओरालो लाग्ने र योसँगै उनीहरूको मोल पनि घट्दै जाने गरेको छ। तर, यो कुरा अभिनेत्री करिना कपुरको हकमा लागू भएको छैन। अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि पनि बलिउडमा उनको दबदबा कायमै छ। अहिले पनि उनी महँगी अभिनेत्रीको सूचिमा छिन्। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। फिल्म ‘हिरोइन’का लागि उनलाई यति मोटो रकम दिइएको थियो। तर, फिल्म भने फ्लप भयो। बलिउड समीक्षकहरूले यदि ‘हिरोइन’ सुपरहिट भएको भए करिना बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बन्ने थिइन् भन्ने बताउने गरेका छन्।

गत वर्ष अगस्टमा रिलिज भएको उनको फिल्म ‘सिंघम रिटर्न्स’ले आफूलाई सय करोड कमाउने फिल्महरूको क्लबमा पार्न सफल भएको थियो। यद्यपि, यो फिल्म ‘सिंघम’जति हिट भने हुन सकेन।

Priyanka_Chopraबलिउडकी चौथो महँगी अभिनेत्रीमा पर्छिन्- प्रियंका चोपडा। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। यद्यपि, उनको प्रचलित रेट चाहिँ तीन करोड भारु हो।

उनको अभिनयको सबैभन्दा बढी तारिफ भएको फिल्म ‘बर्फी’ हो। त्यसबाहेक फिल्म ‘फेशन’मा पनि उनको अभिनयको राम्रो प्रशंसा भएको थियो। बलिउडमा उनको मोल फिल्म ‘बर्फी’पछि बढेको हो। ‘बर्फी’पछि उनी सबै खालका भूमिका निर्वाह गर्न सक्छिन् भन्नेमा बलिउडका निर्माता तथा निर्देशक विश्वस्त भएको बताइन्छ।

सन् २०१४ प्रियंकाका लागि सफलताको अर्को महत्वपूर्ण खुड्किलो साबित भयो। गत वर्ष उनले ‘मेरी कोम’जस्तो नारी पात्रलाई प्रमुख बनाइएको फिल्ममा काम गरिन्। यो फिल्म सफल भएपछि प्रियंकाको भाउ अझ बढेको छ। अभिनयबाहेक उनी गायनमा पनि सक्रिय हुन खोजिरहेकी छिन्।

फिल्म, म्युजिक भिडियो र मोडलिङ ३१ वर्षीया प्रियंकाका आम्दानीका मुख्य स्रोत हुन्। अहिलेसम्म उनले ४० करोड भारु कमाइसकेकी छिन्।