युएईमा अलपत्र नौ महिला स्वदेश फर्काइए

वैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नौजना नेपाली महिलाको एनआरएनए युएईको पहलमा उद्धार भएको छ । उद्धारपछि सबैलाई नेपाल पठाइएको छ ।

एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बू र रीता सुनारलाई उद्धार गरी नेपाल पठाइएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए । उनका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरूलाई नेपाल पठाइएको हो ।

दलालमार्फत नै युएई ल्याइएकी गीता राई भने गत ५ फेब्रुअरीमा नेपाल फर्काइएकी थिइन् । उनी पाँच महिना नेपाली दूतावासको आश्रयस्थलमा बसेकी थिइन् । उनलाई नेपाल फर्काउन एनआरएनए युएईले टिकटको व्यवस्था गरिदिएको थियो ।

नौजनालाई नै भारतको बाटो हुँदै सारजाह विमानस्थलबाट युएई ल्याई थुनेर राखिएको थियो । उनीहरूलाई युएईमा रहेका एजेन्ट सुजन भण्डारीले आफ्नो कोठामा थुनेर राखेका थिए । आफूहरूलाई परिवारसँगको सम्पर्कबाट वञ्चित गरेर राखेको पीडितहरूले बताए ।

एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा थुनेका थिए । दलालले आफूहरूको मोबाइल र पासपोर्ट खोसेको उनीहरूले बताएका छन् । त्यस्तै, खाना नदिने, विभिन्न अरेबियनका घरमा जागिर लगाइदिने भन्दै लैजाने र तलब नदिने, केही कुरामा विमति राख्यो भने धम्की दिने र पिट्ने गरेका उनीहरूको गुनासो छ ।

आफूहरूलाई ओमन बेच्न लाने तयारी गरिरहेको अवस्थामा लुकाएको मोबाइलको सहायताले उनीहरू एनआरएन दुबई क्षेत्रीय समितिका सचिव प्रकाश सुनारको सम्पर्कमा पुगेका थिए । त्यसपछि एनआरएन युएईको विशेष पहलमा स्थानीय सिआइडीलाई खबर गरी उनीहरूको उद्धार गरिएको थियो ।

उनीहरूलाई उद्धार गर्न एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनी, आइसिसी सदस्य मनोज श्रेष्ठ, दुबई क्षेत्रीय अध्यक्ष मदन अधिकारी, दुबई क्षेत्रीय सचिव प्रकाश सुनार, एभरेस्ट मार्सल आर्ट एन्ड स्पोर्टस् युएईका अध्यक्ष रवि शाहीसहितको टोली अजमान पुगेको थियो । टोलीले उनीहरूलाई लुकाएको कोठामा छापा मारेको जनाइएको छ ।

टोलीले दलाललाई पनि पक्राउ गरेर प्रहरीलाई बुझाएको छ । तीनजना दलाल दुबई प्रहरीको हिरासतमा छन् ।

अवैधानिक बाटो हुँदै युएई ल्याएर ओमन, कुवेत, लेबनानलगायत देशमा महिलाहरूको बिक्री गर्न नेपालीहरू नै सक्रिय छन् । दलालहरूले महिलालाई विभिन्न प्रलोभनमा ल्याउने र युएई ल्याइसकेपछि डर–धम्कीका भरमा जस्तोसुकै काम गर्न बाध्य पार्ने गरेका छन् ।

उद्धार गरेर नेपाल फर्काइएकी गीता राईका अनुसार उनी ३५ हजार रुपैयाँ तिरेर दलाल प्रवीण राईमार्फत युएई पुगेकी हुन् । एअरपोर्ट सेटिङ गरी ल्याइएकी उनलाई एजेन्ट सुजन भण्डारीकी श्रीमती शान्तिमाया राई (एलिसा)ले कोठामा लगेर थुनेकी थिइन् ।

उनलाई एलिसाले अरेबियनका घरमा कामका लागि पठाउने गर्थिन् । उनलाई दुई महिनासम्म तलब दिइएको थिएन । आफूलाई उज्वेकिस्तान पठाउन लागेको थाहा पाएपछि उनी त्यहाँबाट भागेर साथीहरूको सहयोगमा नेपाली दूतावास पुगेकी थिइन् ।

-लक्ष्मण खनाल