दक्षिण कोरियामा ‘नेपाल डे’

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ एनआरएन कोरिया, नेपाली विद्यार्थी समाज (सोन्सिक) को संयुक्त आयोजनामा राजधानी सोलमा नेपाल डे मनाइएको हो ।

फोटो दृष्टान्तका निम्ति मात्र

कोरियन पर्यटकलाई आकर्षण गर्दै नेपाल जान उत्प्रेरणा गर्ने उद्धेश्यले आयोजना गरिएको नेपाल डेमा सोल महानगरपालिका, नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको थियो । सोलको ख्वाङमुन रेल स्टेशनछेउमा नेपाली पर्यटकीय स्थल र संस्कृति झल्काउने विविध भेषभूषासहित नेपाली पोशाक पहिरिएका सयौं नेपालीका साथ परेड गरिएको थियो ।

कार्यक्रम स्थलमा विश्वको अग्लो शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत नेपालका पर्यटकीय स्थलको फोटो प्रदर्शन गरिएको थियो । जातीय भेषभूषा सहितका नेपालीले आफ्नो नाँच प्रस्तुत गरेका थिए । कोरियनहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।

नेपालको प्राकृतिक, सांस्कृतिक, कला, धार्मिक महत्वका स्थानको जानकारी दिन भिडियोसमेत प्रदर्शन गरिएको थियो । समृद्ध नेपाल र सुखी नेपालीको महत्वकाक्षा पूरा गर्न नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपाल डे आयोजना गरिएको आयोजक मध्येको एक एनआरएन कोरियाले जनाएको छ ।

एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी गुरुङले समृद्द नेपाल निर्माण गर्ने सरकारको अभियानलाई कोरियन पर्यटकलाई नेपाल भ्रमण गर्न उत्साहित पार्न नेपाल डे मनाइएको बताए । सोनसिकका अध्यक्ष विजय बस्नेतले नेपालको पर्यटकीय स्थलबारे कोरिया र विश्वभर प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल डेको उद्धेश्य रहेको जानकारी दिए ।

नेपाल डे नेपालमा कोरियन पर्यटक वृद्धि गर्न आयोजना गरिएको र पर्यटक भित्र्याउन दूतावासले विभिन्न अन्तर्राष्ट्रिय फोरममा पनि स्टल राखेर कार्यक्रम गर्दै आएको पनि राजदूत अर्जुनजंगबहादुर सिंहले बताए । दक्षिण कोरियामा इपिएसमार्फत् रोजगारीका लागि नेपाली आउने क्रम वृद्धि भएसँगै नेपालबारे कोरियनको पनि चासो बढिरहेको छ ।

कोरियनहरु अन्नपूर्ण पदमार्ग र हिमालका बारेमा बढी चासो लिइरहेका हुन्छन् । कुटनीतिक निकायले जुन स्तरमा प्रचार गर्नुपर्ने हो त्यो कोरियाको परिप्रेक्ष्यमा कम नै छ । पर्यटन वर्षलाई लक्षित नभएर पर्यटक भित्र्याउन कुटनीतिक थप क्रियाशील भएर अझ विभिन्न खाले कार्यक्रम गर्न आवश्यक हुने देखिएको छ ।

नेपाल सरकारले विदेशमा रहेका आफ्ना कुटनीतिक निकायलाई पर्यटन प्रचार र लगानी भित्र्याउन बढी सक्रिय हुन साथै संवेदनशील भएर लाग्न आदेश र दबाब दिएमात्र सरकारको पर्यटन वर्ष सफल हुने सरोकारवालाको भनाई छ ।

  • विकास श्रेष्ठ