बेलायतको स्थानीय चुनावमा तीन नेपाली सफल

नेपाली मूलका तीन जनाले बेलायतको स्थानीय निकाय निर्वाचनमा सफलता पाएका छन् । गत बिहिबार सम्पन्न निर्वाचनमा लक्ष्य गुरुङ, विष्णु गुरूङ र चित्र राना काउन्सिलर निर्वाचित भएका हुन् ।

यसपटक लण्डनसहितका विभिन्न काउन्सिलबाट आधा दर्जन बढी नेपाली काउन्सिलरको चुनावी मैदानमा थिए । त्यसमध्ये तीन जना भूतपूर्व गोर्खा सफल भए।

निर्वाचित भएकामध्ये  विष्णु गुरुङ र चित्र राना दोस्रोपटक काउन्सिलरमा निर्वाचित भएका हुन् भने लक्ष्य गुरुङ पहिलोपटक काउन्सिलर बनेका हुन् ।

लक्ष्य गुरुङ लण्डन बार्नेट काउन्सिलको हेल वार्डबाट सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर बनेका हुन्।

काउन्सिलर विष्णुबहादुर गुरुङ लण्डनको हन्स्लो काउन्सिलको हानवर्थ वडाबाट गुरुङ विजयी भएका हुन् ।

त्यस्तै, वकिङबाट निर्वाचित रिटायर्ड मेजर राना कञ्जरभेटिभ पार्टीको उम्मेदवार थिए।