११ वर्षमा १० हजार सहिद !

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका विभिन्न सरकारले आफूखुसी सहिद घोषणा गर्नेक्रम बढ्दा त्यसयता (११ वर्षको अवधिमा) मात्रै सहिद संख्या ९ हजार ५ पुगेको गृह मन्त्रालयले जनाएको छ।

यो संख्यामा अझै १ हजार ५ सय थपिने अनुमान गृह मन्त्रालयका अधिकारीहरूले गरेका छन्। राणाकालमा मारिएका चार सहिद तथा पहिलो जनआन्दोलनमा मारिनेहरूको संख्या यो सूचीमा समावेश छैन।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले दोस्रो जनआन्दोनलदेखि हालसम्म सहिद घोषणा हुने क्रम अत्यधिक बढेको जानकारी दिए। गृहसचिव सापकोटाले ११ वर्षको अवधिमा मात्रै सरकारले ९ हजार ५ जनालाई सहिद घोषणा गरेको प्रारम्भिक विवरण गृहमा प्राप्त भएको जानकारी दिए।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले पछिल्लो पटक माओवादी सशस्त्र द्वन्द्वमा मारिएका निजामती कर्मचारी, प्रहरी, सेना तथा शिक्षकलाई समेत सहिद घोषणा गरेको थियो। सरकारले त्यसरी राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गरेपछि मात्रै गृमन्त्रालयले त्यस्ता कर्मचारीको खोजी गर्न थालेको छ। राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्नुअघि मात्रै देउवा सरकारले २ सय ६६ जनालाई सहिद घोषणा गरिसकेको थियो।

दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली, र सुशील कोइराला नेतृत्वका विभिन्न सरकारले एकपछि अर्को गर्दै सहिद घोषणा गर्दै आएकाले सहिदको संख्या अत्यधिक बढेको गृहका अधिकारीहरूले जनाएका छन्।