नेपालको हवाई सुरक्षाबारे बुझ्न ईयु टोली आउँदै

चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको युरोपेली युनियन (ईयु)को टोली पुनर्विचारको अध्ययन गर्न नेपाल आउने भएको छ । गत साता ईयु र नेपाली टोलीबीच भएको छलफलमा ईयुको टोलीले पुनः नेपाल आएर अध्ययन गरेपछि मात्रै कालोसूचीबाट हटाउने-नहटाउनेबारे निर्णय लिने जानकारी दिएको थियो ।
ईयुले प्रत्येक ६-६ महिनामा अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपभन्दा बाहिरका दर्जनौं एयरलाइन्स कम्पनीको सूची सार्वजनिक गर्दै आएको छ । सोही अनुसार नेपाललाई पनि विगत ४ वर्षदेखि निरन्तर रूपमा कालोसूचीमा राख्दै आएको छ । गत जनवरी १९ मा नेपाली टोली छलफलका लागि ब्रसेल्स गएको थियो । “ईयुलाई नेपालको पछिल्लो हवाई सुरक्षामा भएको सुधारका विषय राखेर आएका थियाैं,” नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले भने ।

नेपालको हवाई क्षेत्रका बारेमा आईकाओले पहिलो पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो भने २००१ नेपालमा पहिलो पटक आईकाओले औपचारिक रूपमा अडिट गरेको थियो । त्यतिखेर पनि आईकाओले हवाई सुरक्षाको कुरा उठाएको थियो । पुनः आईकाओले सन् २००४ र २००८ मा पनि आईकाओले अडिट गरेको थियो । ईयुले एओसी दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदनसहित नेपालमा सेप्टेम्बर २०१२ देखि सेप्टेम्बर २०१३ को बीचमा धेरै दुर्घटना हुनुलगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।