गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुलाई एकै थलोमा ल्याउनका लागि गैरआवासीय नेपाली संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ ।
संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग तादात्म्यता गरी नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुग्ने कार्यक्रम संयोजक डा. हेमराज शर्माले पत्रकार सम्मेलनमा बताए ।
सो अवसरमा संघका उपाध्यक्ष कुमार पन्त र महासचिब बद्री केसीले विज्ञ सम्मेलनको महत्वबारे प्रकाश पारेका थिए ।
गैरआवासीय नेपाली संघमा लामो समयदेखि विज्ञ सम्मेलनबारे चर्चा चल्दै आएको हो । विदेशमा रहेर विभिन्न विधामा विशेषज्ञता हासिल गरेकाहरूको अनेक चर्चा हुने गरे पनि संघको नेतृत्वमा भने विज्ञहरू छायामा पर्दै आएका छन् र ब्यापारीहरू हावी रहेका छन् । व्यापारीहरूको संस्थाले विज्ञहरूलाई कसरी व्यवस्थापन गर्ने हो धेरैलाई चाखको विषय बनेको छ ।