हल्ला समाचारको पछि कुदे सभासद

नेताहरू कतिसम्म हल्लाको राजनीति गर्छन् भन्ने एक उदाहरण संसदमा देखिएको छ । एक जिम्मेवार पार्टीका जिम्मेवार नेताले हल्लैहल्लाको कुरालाइ दिएर संसदमा विशेष समय लिएर बोले । छ दिन दिउँसै अँध्यारो हुने बकम्फुसे हल्लाबलाइ विश्वास गरेर  आइतबारको व्यवस्थापिका संसदको बैठकमा यस्तो भएको हो।

sapkota_agniबैठकमा समय लिएर बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् अग्नि सापकोटाले सोधे, ‘छ दिन पृथ्वी अँध्यारो हुनेबारे सरकारले के तयारी गरेको छ?’

विगत केही दिनदेखि सामाजिक सञ्जालमा फैलिरहेको यो हल्ला व्यंग्यात्मक वेबसाइट हज्लर्स डट कमले नासालाई व्यंग्यात्मक हिसाबले उदृत गर्दै बनाएको एउटा ‘हावा’ समाचारबाट फैलिएको थियो।उक्त प्यारोडी समाचारमा कतिसम्म भनिएको छ भने, नासा प्रमुख चार्ल्स बोल्डेनले यो घोषणा गरेका हुन् र उनले सबैलाई शान्त रहन समेत भनेका छन्। दुई सय ५० वर्षपछिको यो सौर्य आँधीका कारण दुई सय १६ घण्टा पृथ्वी अँध्यारो हुने समाचारमा जनाइएको थियो।

समाचारको सत्यता परीक्षण नगरी नेपालकै कतिपय अनलाइनहरुले पनि यो समाचार प्रकाशित गरेका थिए।

निस्तेज भइसकेको निलोफरको चिन्ता 
सापकोटाले सम्बोधनका क्रममा निलोफरबारे पनि सरकारको तयारी के छ भनी सोधेका थिए। जबकि निलोफर आँधीको प्रभाव शुक्रबारै निस्तेज भइसकेको थियो।  भारत र पाकिस्तानको तटीय क्षेत्रमा प्रभाव पार्न सक्ने भनिए पनि निलोफर चक्रवातको गति त्यहाँ नपुग्दै निस्तेज भइसकेको थियो।

यसरी हल्लैहल्लाको भरमा संसदमा बोल्ने साँसदले अब के भन्लान् ? नेपालमा हल्लाको भरमा नेताहरू कसरी कुद्छन् र त्यसको कस्तो खेती हुन्छ भन्ने यो  सोझासाझासम्मले बुझ्ने उदाहरण बनेको छ ।