तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुुम्बिनीमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । चीन, थाइल्यान्ड, श्रीलङ्का, जापान, कोरिया, म्यानमारलगायतका तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएसँगै लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

सन् २०१३ को सेप्टेम्बरसम्ममा तेस्रो मुलुकबाट ८३ हजार ४८५ पर्यटकले लुम्बिनीको भ्रमण गरेकामा सन् २०१४ मा घटेर ८३ हजार २७७ मा झरेको छ । विगतको वर्षमा भन्दा यो सङ्ख्या २०८ ले कमी हो ।

lumbiniसन् २०१३ मा सबैभन्दा बढी पर्यटक लुम्बिनी आएको श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, जर्मनीलगायतका देशबाट आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । सन् २०१३ मा सबैभन्दा बढी ३५ हजार ४२४ जना पर्यटकले लुम्बिनीको अवलोकन गरेकामा यस वर्ष घटेर २७ हजार ३७८ जनाले मात्रै लुम्बिनीको अवलोकन गरेका छन् ।

साउथ इन्डियनहरूले श्रीलङ्कन पर्यटकमाथि गरेको दुव्र्यवहार, बोधगयामा भएको बम विस्फोटका घटना र थाइल्यान्डमा भएको आन्दोलनका कारण पर्यटकको सङ्ख्यामा कमी आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०१३ मा चीनबाट १३ हजार ५६१, जापानबाट दुई हजार २५६, म्यानमारबाट १६ हजार ७९७, कोरियाबाट पाँच हजार ४२८, श्रीलङ्काबाट ३५ हजार ४२४, थाइल्यान्डबाट ३० हजार ६५५ र भियतनामबाट तीन हजार ७३० जना पर्यटकले लुम्बिनीको अवलोकन गरेका छन् ।

त्यस्तै, २०१४ मा चीनबाट १३ हजार ३५८, जापानबाट एक हजार ९४३, म्यानमारबाट नौ हजार ६६, कोरियाबाट तीन हजार ७९५, श्रीलङ्काबाट २७ हजार ३७८, थाइल्यान्डबाट १४ हजार १५४ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् ।