विपक्षी मोर्चा छाड्ने गच्छदारको संकेत

मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । मार्चाको बैठकहरुमा मधेशका नेताहरुले व्यग्यं गरी होच्याउने गरेको गुनासो गर्दै अध्यक्ष गच्छदारले त्यस्ता नेताको भीडमा आफूलाई बस्न मन नलागेका धारणा पार्टी बैठकमा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

bijaya-gachhadarउनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीको नामै लिएर यो कुराहरु पार्टीमा भनेका थिए । मधेशवादी दलका नेताहरुको कसको हैसियत कति छ भने कुरा आफूलाई सबै थाहा रहेको बताउँदै उनले मोर्चालाई आज यो स्थानमा पुर्याउने काम आफूले गरेको बताए । ‘आज मोर्चाको नाममा कसैले बोलिररहेका छन्, धाक देखाई रहेका छन् ती सबै मेरै कारणले हो,’ उनले भने, ‘ती नेताहरुमध्ये कसैले पनि ठूला नेताको सामु बोल्न सक्दैनन् जहाँ पनि मैले बोल्नुपर्छ जवाफ दिनुपर्छ तर म एकदिन कसैसँग छुट्टै भेटे कुरा गरे भने उनीहरुलाई अपाच्य हुन्छ ।’

एक नेताका अनुसार गच्छदारले यस्तो कुरा राखेपनि कसैले पनि मोर्चा छाड्न सुझाव दिएका छैनन् । बरु मोर्चामा त्यस्ता टिक्का टिप्पणी गर्नेलाई जवाफ दिनुपर्ने, साइड लगाउनुपर्ने तर मोर्चा छाड्नु नहुने भनि सुझाव दिएका छन् । अहिलेको अवस्थामा मोर्चा छाडियो भने नराम्रो सन्देश जाने भएकाले मोर्चा नछाड्ने बरु त्यही संघर्ष गर्ने र मधेश र देशका हितमा हुने हरेक गतिविधिमा सहभागि हुने सुझाव दिएको स्रोतले जनाएको छ ।