रूसमा आदिकविको द्विशतवार्षिकी सम्पन्न

आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूसमा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

नेपाली राजदूतावास परिवारका साथै रूसमा बसोवास गरिरहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, विश्व नेपाली साहित्य महासंघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ) का पदाधिकारीहरू, साहित्यानुरागी महानुभावहरू र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूसका सम्पूर्ण सदस्यहरूको समुपस्थिति रहेको थियो । भानु–समारोहमा आमन्त्रित रूस लेखक संघ, रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थान, मास्को राजकीय कलाअध्ययन संस्थानहरूका साथै मास्को बुद्धधर्म समाज र पर्यटन एजेन्सीहरू आदि विभिन्न रसियाली सांस्कृतिक, शैक्षिक तथा अनुसंधानमूलक संस्थाहरूका प्रतिनिधिहरू पनि निकै संख्यामा उपस्थित थिए । रूसमा भानुभक्तको द्विशतवार्षिक समारोह मनाउन मस्को आइपुग्नुभएका मदन पुरस्कार विजेता नेपाली साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर नेउपानेका साथै पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको समेत उपस्थितिले रूसमा भानु–समारोहको रौनक निकै बढ्न गएको थियो ।

In russia भानु प्रोग्रामआदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका सदस्य–सचिव डा. मणिराज पोखरेल (रूस–नेपाल मैत्री तथा सहयोग समाजका उपाध्यक्ष) ले आदिकविप्रति समर्पित नेपाल–रूस साहित्य सम्मेलनको सञ्चालन गर्दै समारोह समितिका संरक्षक, नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला, अतिथि नेपाली साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर न्यौपाने, नेपालका पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, गैरआवासीय नेपाली संघ केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछाने, केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी., केन्द्रीय सदस्यद्वय गोविन्दप्रसाद गौतम (अध्यक्ष, विश्व नेपाली साहित्य महासंघ), सपिला राजभण्डारी (विश्व महिला प्रतिनिधि) प्रभृति गण्यमान्य जनलाई आसन ग्रहण गराएर समारोहको कार्यक्रमबारे प्रकाश पार्नुभयो ।