राजनीतिमुक्त एन.आर.एन.को चेपारे पुराण

चेपारे कुरा बिक्दैन भन्ने राम्ररी थाहा भए पनि केही मान्छेहरू त्यस्ता कुरा बोल्न छाड्दैनन् । खासगरि नेतृत्वमा भएका मान्छेहरू चेपारे कुरा बोल्न खप्पीस हुन्छन् । सार्वजनिक ठाउँमा चेपारे कुरा गर्ने यी ठूलेहरू व्यवहारमा कति उल्टा हुन्छन् भन्ने कुरा एक नम्बरको अनाडिले पनि बुझेको छ हिजोआज । तर ठुलेहरू चेपारे शैली छाड्दैनन् । यो उनीहरूको विशेषता हो । यो वास्तवमा हाम्रो मौलिक नेपालीपन पनि हो । त्यही नेपालीपनको हंसमा केही अंश भए पनि परिवर्तन ल्याउँछु भनेर खोक्दै आएका एन.आर.एन.वालाहरू नेपाली नेताको ऐनामा देखिने दर्पण हुन् ।

जस्तो की केपी ओलीको अनुहारमा राजपन्थीहरूले राजा महेन्द्रको राजगुण देख्छन् । बालुवाटारलाई चिन्नेहरूले केपीको दर्पण गोकुल बाँस्कोटामा देख्छन् । अलिक नजिकबाट नियाले महेश बस्नेतको दर्शन छायाँ पनि देख्न्न सकिन्छ भन्छन् । अझ नजिकबाट नियाले चरीको हंशको धङ्धङ्ती पनि पाउन सकिन्छ भन्छन् । कुन एङ्गलबाट हेर्ने भन्ने कुरामा भर पर्ने कुरा हो । भित्री नजर, बाहिरी नजर । देशी नजर, विदेशी नजर । विदेशी नजरको कुरा गर्दा खाँट्टी विदेशी की एन.आर.एन.वाला विदेशी भन्ने कुरा आउँछ ।

दुई तिहाइबाट शुरू भएको केपी ओलीको हंशको अंश स्वदेशमा मात्र होइन परदेशमा पनि फैलने नै भयो । गोकुल बाँस्कोटा र महेश बस्नेतहुँदै फैलिएको यो हंशको अंश एन.आर.एन.वालाका नेता कुमार पन्तसम्म एकाकार भएको छ । उनले आफ्ना गुरूबा युरोप घुम्न आउँदा बाका कार्यकर्ताहरूलाई बन्द-प्रशिक्षण दिएर केपी आत्माको पहिचान देखाएका थिए । बन्द प्रशिक्षणमा पुग्दा उनले एनआरएन सँघको अध्यक्ष हुनुको ब्याच सूर्यमुखि झोलामा लुसुक्क राखेका थिए ।

बिरालोले बाघको छाला ओढे पनि बोल्ने बेलामा म्याउ नै गर्छ । पन्तले युरोपका राजधानीहरूमा म्याउ-म्याउ नै गरे । यसमा अन्यथा लिनु पर्ने केही छैन । त्यो केपीका भक्तिमार्गी कुमार पन्तको अपनत्व नै थियो । यसमा उनको विवेकमाथि लम्बेतान चर्चा गर्नु केही आवश्यक छैन । त्यो उनको नीजि आस्था हो ।

तर, गत हप्ता यी भक्तिमार्गीले पन्त-पुराण सुनाएपछि एन.आर.एन. फाँटमा धेरैको जग हाँसेको छ । पन्त-पुराणको लाइन शुरू हुन्छ- गैरआवासीय नेपाली सँघको विधानमा उल्लेख भएअनुसार ब्ला-ब्ला … राजनीतिक दलहरूको तर्फबाट समूह बनाई चुनावमा भाग लिन प्रतिबन्धित छ, … यदी त्यसरी भाग लिएमा मान्यता दिइने छैन ।

झट्ट सुन्दा पन्त-पुराण गुलियो छ । पुराण जस्तै गुलियो । केपी बाको भाषण जस्तै गुलियो । कति मिठो उपदेश दिन जानेका? कति विकेकशील र सादगी कुरा? त्यसै यीनी नेता भएका त होइन रहेछन् । नेतामा हुनुपर्ने गुण गच्छेअनुसार केपीमा जस्तै यीनमा पनि रहेछ । केपी गणका पन्तले उपदेश र आदर्शको उच्चाटलाग्दो तर पपुलिस्ट वक्तव्य निकाले । जुन यसै लेखको तल पाठकहरूले पढ्न सक्नुहुन्छ ।

यो कोरा उपदेशबाजी गरेर यीनले माछा मारे की भ्यागुतो?

१० वर्ष अघिसम्म एन.आर.एन. सँघ कति ओजिलो थियो? अहिले कुन भित्तामा पुग्यो? यो प्रगति र अवनतिको धेरै ब्याख्या-विवेचनाको आवश्यकता नै छैन हिजोआज । पछिल्लो २/३ वर्षमा यस विषयमा धेरै शब्दहरू खर्च भैसकेका छन् । अहिले कुरा गराैं, पन्तको वक्तव्य कै ।

पन्तको बन्द-प्रशिक्षण र पन्त-पुराणको सानो उदाहरणमा एन.आर.एन. सँघको ठूलो रहस्य घुसेको छ । यो त एउटा प्रहसन न हो । भाषण गर्दा राजनीति नघुसाउ भन्ने, आफै लुसुलुसु राजनीतिक झण्डा बोक्ने । राजनीतिक पार्टीको घुसपैठ सहन्नौं भन्ने आफै राजनीतिक गोटी बन्ने ।

राजनीतिक गोटी बन्दा अमुक मान्छेलाई फाइदै होला । धेरैको जिन्दगी फाइदा र घाटाको जोडघटाउमा नै बित्छ । तर संस्थाको हैसियतको मापन वास्तवमा व्यक्तिको ब्यालेन्स सीटभन्दा फरक हुन्छ । तैपनि नेताले आफ्नो तुजुक देखाउन बिर्संदैन । एन.आर.एन. सँघका ख्वामित् ले पनि बिर्सने कुरो भएन । तुजुग नदेखाउने बित्तिकै उ नेता रहँदैन । त्यसैले उ केही आकर्षक जंक शब्दहरू थोपरेर चिटिक्क वक्तब्य निकाल्छ । झुटो बोल, नेता बन ।

पन्तको बन्द-प्रशिक्षण र पन्त-पुराणको सानो उदाहरणमा एनआरएन सँघको ठूलो रहस्य घुसेको छ । यो त एउटा प्रहसन न हो । भाषण गर्दा राजनीति नघुसाउ भन्ने, आफै लुसुलुसु राजनीतिक झण्डा बोक्ने । राजनीतिक पार्टीको घुसपैठ सहन्नौं भन्ने आफै राजनीतिक गोटी बन्ने ।

यी सब क्षणभंगुर नेतागिरीको व्यक्तिगत सार्थकता र संस्थागत व्यर्थतामा चोथाले वक्तव्यबाजीको नाटक कहिलेसम्म चलिरहने हो? एनआरएनवालाहरूको काम फेसबुकको भित्तामा लेख्ने र पिसाब फेर्ने मात्र होइन । तर हालसम्मको रवैया देख्दा त्योभन्दा बढी नाप्ने चाईंचुईं देखिँदैन ।

  • Post category:TOP STORIES