कोरोना: नेपालले युरोपबाट सिक्नुपर्ने शैली

हामी विश्व इतिहासको अनौठा दिनहरू गुजार्दै छौं । हाम्रै छिमेकी देश चिनबाट महामारी शुरू भएर पूर्वी एशिया, युरोप हुँदै अमेरिका पुगिसकेको कोरोना नामको भुँवरी दक्षिण एशियामा फर्केको छ । यसको ताण्डव नृत्य कस्तो हुने हो ? कसरी पार लाग्ने हो ? हामीलाई केही थाहा छैन । यसको तात्कालिक वा दीर्घकालिन असरका बारेमा अन्दाज गर्नु अन्धोले हात्ती छाम्ने कथन जस्तै कुहिरोमय छ । इतिहासले भन्छ- महामारी आँधी जस्तै आउँछ, तर यसको कुनै नियमित रूटिङ हुँदैन । अनि संकट समाधाननिम्ति सधैं उही चालामाला हुन्छ- सभ्य देशहरू संकट पर्दा एक हुन्छन्। अभागी समाजहरू संकटका बेला एक अर्कालाई दोषारोपण गर्छन् । र समय बेकारमा क्षय गर्छन् ।

महामारी भन्नु नै जनस्वास्थ्यमा धावा बोल्नु हो । यसको क्षति पीडादायी हुन्छ नै । जसले गर्दा सामाजिक तनाव बढ्छ र जनताहरू घोकन्ते पाठ बिर्सेर आफ्नो मूलमन्त्र र मान्यताका खातिर जिन्दगीको भयानक पाठ सिक्छन् । मान्छेलाई भोगाइले दिएको ‘ज्ञान’, भाषणले दिएको उत्तेजनाभन्दा  धेरै समय टिक्छ । भाषण र आश्वासनको भरमा बाँचिरहेका जनता अहिले जीवनकालमा कहिल्यै नदेखेको संकट देख्दैछन् तर मुलुकको कमजोर नेतृत्व अर्कालाई दोष थोपरेर आफ्नो नालायकी ढाकछोप गर्ने प्रयास गर्दैछ । यो नाटक अहिले यसरी मंचन हुँदैछ- युरोप, अमेरिकालाई त हम्मेहम्मे भएको छ, हामीसँग के छ र ?

निश्चित रूपमा स्रोत र साधनको सीमितता छ । तर समस्यालाई न्युनीकरण गर्ने अनेक उपाय पनि छन् । भाइरसको उदय र विस्तारको यात्रामा अरू देशहरूले के गरिरहेका छन् भन्ने अनुभव हेर्यो भने अनेक अन्तर्दृष्टि पाउन सकिन्छ । रोकथाम नियन्त्रणको निक्ति अनेक प्रेरणादायी पहल हुनसक्छ । युरोपका विभिन्न देशहरूले अपनाएका नीति हाम्रो लागि सार्थक पदचाप हुन सक्छन् । युरोपेली देशका यी सन्दर्भहरू आर्थिक पहलूसँग मात्र जोडिएका छैनन्, व्यवस्थापकीय बन्दोबस्तका कुराहरू पनि छन् ।

नेपालमा रिसर्च गर्ने भन्ने कुरामा कुनै चासो देखिन्न । यतिसम्मकी आयुर्वेदले भनेका कुराहरूलाई आधुनिक औषधी विज्ञानको प्रायोगिक कसीमा राखेर मीमांसा समेत गरिँदैन ।

म युरोपेली मुलुकहरूको अभ्यासलाई नेपालको क्षमता र अवस्थासँग हमेसा दाँजेर हेरीरहेको हुन्छु ।

कुरा शुरू गरौं, नेपाल र युरोपेली मुलुकहरूको काम गराईको तात्विक फरकबाट । अहिले युरोपेली मुलुकहरूमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँगै हमेसा उभिएर ब्रिफिङमा भाग दिने नयाँ अनुहार देखिन्छन् । उनिहरू हुन्- भाइरस विशेषज्ञ ।

पहिले फुटबलर र सेलेब्रिटीहरूले पाउने मिडिया कभरेज अहिले यी भिरोलोजिस्ट विशेषज्ञहरूले पाएका छन् । उनिहरूले दिएको सुझावलाई सरकार प्रमुखहरूले हुबहु मानिरहेका छन् । (यस्तै खालको पूर्वाधार छ अमेरिकामा पनि तर त्यहाँको राष्ट्रपति उपबुज्रुक हुँदा बाठो खान्छ तिन बल्ड्याङ भने जस्तो भैरहेको छ ।)

देशको वास्तविक स्वास्थ्य अवस्थासँग परिचित यी भिरोलोजिस्टहरूले देशीय आवस्यकताअनुसार सरकारलाई सुझाएका हुन्छन् । उनीहरूको त्यही विचारले प्राधान्य पाउँछ ।  सरकार प्रमुख र स्वास्थ्यमन्त्रीले पनि उनीहरूको ब्याख्याविवरण सुनेर र उनीहरूलाई नै अगाडि सारेर काम गरिरहेका छन् । जर्मनीमा बोन युनिभर्सिटीका हेनड्रिक स्ट्रेक र क्रिश्चियन द्रोस्तन, नेदरल्याण्डमा एरिक स्नेइदर, बेल्जियममा लुभन युनिभर्सिटीका मार्क भान रान्स्त र स्टेभन भान गुक्त, फ्रान्समा आइ मार्सेई युनिभरसिटीका दिदिए राउल जस्ता भिरोलोजिस्टहरू सरकार कै प्रवक्ता जस्तो देखिने गरी भूमिका खेलीरहेका छन् । उनीहरूले सुझाएको एकसरो नीति र सुझावमा सरकारहरू कार्यान्वित भैरहेका छन् । यी एक्सपर्ट हुन् र यीनको कुरा मान्नुपर्छ भन्ने भावना जताततै छ ।

बेल्जियमको कुरा गर्दा हरेक दिन सरकारको तर्फबाट राष्ट्रिय संकट केन्द्रका भिरोलोजिस्ट स्टेभन भान गुक्तले प्रेस ब्रिफिङ गर्छन् । यी निर्णयहरूको वकालत र संभावित नीति-निर्माणबारे मिडियाहरूसँग ब्यापक अन्तरकृया गर्छन्- अर्का प्रोफेसर भिरोलोजिस्ट मार्क भान रान्स्त । अनि उनीहरूलाई सघाउने टिम छ विशेषज्ञहरूको । सरकारमा नेतृत्व गर्नेहरू भन्दा यी भिरोलोजिस्टहरूले प्राधान्य पाएका छन् यो संकटमा । किनभने जनता र नेता सबैले यो संकटमा ‘विज्ञान’ लाई सर्वोपरी मानेका छन् ।

तर हाम्रो काम गर्ने शैली फरक छ । नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा अरू आठ मन्त्रीहरू समावेश गरेर उच्चस्तरिय समन्वय समिति गठन गरेको छ । संबन्धीत विषयको ज्ञाता नभएका यी मन्त्रीहरूको ‘कोरोना क्याबिनेट’ किन आवश्यक भयो ? हर बिहेमा उहि मन्त्रीलाई दुलाह हुनुपर्ने कस्तो मानसिकता हो यो ?

उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले मन्त्रालयको एक जना सम्बन्धीत वरिष्ठ विशेषज्ञ र विश्वविद्यालय, मेडिकल कलेज वा रिसर्चमा लागीरहेको कुनै एक/दुई विशेषज्ञको नेतृत्वमा भिरोलोजिस्टहरूको एक टिमको सहयोगमा काम गर्दा बढी प्रभावकारी हुन सक्दैनथ्यो ? यसो गरेको भए स्वास्थ्यमन्त्रीले जोकर नाच देखाउन पर्थ्यो ?

दुःखको कुरा, यस सन्दर्भमा नेपालको नागरिक समाज पनि चुकेको देखिन्छ । नागरिक समाजले केही वरिष्ठ भाइरोलोजिस्ट र एपिडेमियोलोजिस्ट जम्मा गरेर एउटा कार्यनीति र निर्देशिका बनाएर सरकार र मिडियालाई दिन पनि सक्थ्यो । अथवा डेढ दर्जन मेडिकल कलेजहरूले एउटा कोर-टिम खडा गरेर त्यस्तै खालको काम गर्न सक्थ्यो । कुहिरोमा रूमल्लिएको सरकार यस्तो कार्यनीति अपनाउन बाध्यात्मक हुन्थ्यो । तर नागरिक समाजले आफ्नो भूमिका खेल्न सकेन । प्रभावकारी कामको प्रयासै नगर्ने र किंकर्तव्यविमूढ भएर सनातनी जप रट्ने भन्दा अरू फरक शैली देखिएन ।

अहिले के देखिन्छ भने मिडियाहरू आफूखुशी मेडिकल डक्टरलाई बोलाएर अन्तरवार्ता लिँदै बाजा बजाईरहेका छन् । जसले गर्दा छरपस्ट छरिएका सन्देशहरू गइरहेका छन् । यदी वरिष्ठ एकाध भाइरसविशेषज्ञहरूलाई अगाडि सारिएको भए ‘एक लाइन सन्देश’ जान्थ्यो । मिडिया पनि त्यही कटुवाल भिरोलोजिस्टतिर धुइरिने थिए ।

तर बिडम्बना ! नेतृत्वको कमजोरीले कोरोनाविरूद्धको युद्ध फितलो भएको छ । यस मामिलामा सरकारमात्र होइन; प्रतिपक्ष, नागरिक समाज र मेडिकल प्रोफेसनलहरू सबै परम्परागत रूझानमा रूमल्लिएर पिछडिएका छन् ।

नेपाली समाज र युरोपेली समाजका आआफ्नै विविधता छन् । साँस्कृतिक भिन्नताका साथै कार्यगत शैली फरक छ । त्यसै अनुरूप चुनौति पनि फरक छन् । जस्तो की, पश्चिम युरोपका सरकारहरूले सबै नागरिकहरूलाई सामाजिक दूरी राख्ने आदेश जारी गरेका छन् । काम बिशेषमा जानु पर्दा डेढ/दुई मिटरको अन्तराल राख्नुपर्ने नियम सुनाएका छन् । सरकारको यो सुझाव सबैतिर पालन भैरहेको छ । सुपरमार्केट, ग्रोसरी स्टोर, फार्मेसी, खाना टेक-अवे, बेकरी, पोस्ट-अफिस वा अस्पताल जता गए पनि यो दूरीको मर्यादा जहाँतहीँ पालन भैरहेको छ । जुन यहाँको सभ्य र शिक्षित जनशक्तिका कारण संभव भएको हो । तर यहाँका आफ्नै समस्या पनि छन् ।

पहिलो कुरा त सामान्यतः एक चौथाई जनसंख्या ७० वर्ष नाघेका छन् । औषधी विज्ञानको करामतले यो संख्या ठूलो भएको हो । जसलाई अहिले जोखिम-समूह मानिएको छ । यो जोखिममा रहेको ठुलो समूहलाई बचाउनुपर्ने चुनौतिपूर्ण अवस्थामा पश्चिमी देशहरू छन् ।

अर्को कुरा, सादगी र आदतका हिसाबले आनीबानी फरक छ । तातो चिया वा पानी पिउने, तातो खाना खाने, तातो बाफ लिने, जिउ तताउने खान्की, मसला र जडीबुटी खाएरै रूघाखोकी भगाउने पुरानो चलन हो । जसले गर्दा चिसोमा बढी खेल्ने भाइरसविरूद्ध सापेक्षिक रूपमा रोग प्रतिरोधात्मक क्षमता सबल हुन सक्छ । त्यसैले औषधी खाइहाल्ने बानी परेका युरोपेलीहरूको तुलनामा घरेलु औषधीले बिरामी भगाउने नेपाली बानीले कोरोनाविरूद्धको लडाईंमा केही राहत दिन सक्छ । घरेलु उपचार, योग र आयुर्वेदिक औषधी लिनेहरूको कारण रोगप्रतिरोध क्षमता सापेक्षिक रूपमा बलियो पनि हुन सक्छ । तर यी यस्ता कुरा हुन्, यसमा कुनै रिसर्च भैरहेका छैनन् । यसमा रिसर्च हुनु एक खालको अवधारणा बन्नु आवश्यक देखिन्छ ।

रिसर्चमा युरोपेली देशहरू असाध्यै महत्त्व दिन्छन् । हरेकजसो पश्चिम युरोपेली मुलुक कोरोनाविरूद्ध के कुरा सहयोगी हुन्छ भनेर अध्ययन-अनुसन्धान गरिरहेका छन् । खोप र औषधी पत्ता लगाउन खटेर लागी परेका छन् । अनेक परिक्षण भैरहेका छन् । जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, यु.के., नर्वे सबै देशमा विभिन्न तहका सफलता मिलेका खबरहरू आइरहेका छन् । तर नेपालमा रिसर्च गर्ने भन्ने कुरामा कुनै चासो देखिन्न । यतिसम्मकी आयुर्वेदले भनेका कुराहरूलाई आधुनिक औषधी विज्ञानको प्रायोगिक कसीमा राखेर मीमांसा समेत गरिँदैन । हामीले युरोपलीहरूबाट सिक्नुपर्ने अर्को कुरा हो यो । नेपाली हावापानी र नेपाली जीनको लागि केही नयाँ फरक अनुभव र नतिजा पनि हुनसक्छ । रिसर्च गरे नयाँ कुरा प्राप्ति हुनसक्छ । जुन युरोपेली खोज भन्दा फरक पनि हुन सक्छ ।

हरेक पटक आउने संकटले नेतृत्वको कसी लगाउँछ । कोरोना (कोभिद-१९) संक्रमणको यो संकटले बहुदलिय नेपालको राज्यशक्तिको परख गर्दैछ । पुराना शासकहरूलाई गाली गर्नेले आफू कति सक्षम र भिजनरी छु भनेर प्रमाणित गर्ने यस्तै बेलामा हो ।

अहिलेसम्मको रवैया देख्दा नेपाल सरकारले पुरातन शैली छोडे जस्तो देखिँदैन । बरू धमिलो पानीमा माछा मार्नेहरू सलबलाएका छन् ।

अपार दु:ख र वेदनाका साथ दोहोर्‍याउनै पर्छ, अर्काको मुख ताकेर र अर्कालाई दोष थोपरेर पन्छिने प्रवृत्ति रहेसम्म सफलता र समृद्धि गफै मात्र हुन्छ । सामग्री एउटा कुरा हो, शैली सिक्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ । सिक्न खोज्नेलाई कहिल्यै ढिलो हुन्न ।