म्याग्दीमा कागज उत्पादनमा नयाँ प्रविधिको प्रयोग

म्याग्दीको राम्चे स्थित नांगीमा नेपाली कागज उत्पादनमा नयाँ प्रविधिको प्रयोग भएको छ । दक्षिण कोरियाको कोरियन इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी अन्तर्गतको ‘इञ्जिनियस विथ ब्रोदर’ समूहको सहयोगमा सो प्रविधिलाई प्रयोगमा ल्याईएको हो । म्याग्दीको हिमाञ्चल हाते कागज तथा हस्तकला उद्योगमा बन्द कोठामा तातो बनाएर कागज सुकाउन छुट्टै न्यानो घर बनाइएको छ ।

न्यानो घरमा कागज सुकाउने प्रविधि प्रयोग गरिएपछि कागज उत्पादन नियमितता हुनुका साथै उत्पादन क्षमता पनि बढेको बताइइएको छ । होचो गरी बनाइएको भुइँ तलामा आगो बालेर कोठालाई तातो बनाउने र त्यही कागज सुकाउने गरिएको छ । भवनको एकातर्फबाट कोठामा प्रकाश पार्न सिसा राखिएको छ भने सिसा राखिएको भन्दा विपरीत भागबाट कोठालाई न्यानो बनाउन ताप प्रशारण गराउने व्यवस्था मिलाईएको छ । हाल नेपालका प्रायः नेपाली कागज उद्योगले लोत्ता प्रशोधन गरेपछिको लेदोलाई कागज बनाउन घाममा सुकाउने गर्दै आएका छन् ।

त्यहाँबाट उत्पादित नेपाली कागजबाट निर्मित डायरी दक्षिण कोरिया र अस्ट्रेलिया लगायतका देशमा निकासी हुने गरेको छ । कागज उद्योग स्थापना भएपछि स्थानीय नांगी सामूदायिक वनमा वर्षौदेखि कुहिएर खेर गइरहेको अर्गेलीको लोत्ता सदुपयोग हुनुका साथै रोजगारी सिर्जना भइ गाउँलेको आर्थिकस्तर सुधार गर्न समेत मद्दत पुगेको स्थानिय बासिन्दाले बताएका छन।