भक्तपुरमा चिनियाँ पर्यटक बढे

पर्यटकीय नगरी भक्तपुरमा भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ। पर्यटक सेवा केन्द्र भक्तपुरका अनुसार केही समयअघि भारतीय पर्यटकको संख्या उच्च रहे पनि पछिल्लो समयमा चिनियाँ पर्यटकको संख्या बढ्दै गएको छ।
केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगर भित्रिने कूल पर्यटकमध्ये २३ प्रतिशत चिनियाँ पर्यटक रहेको बताउनुभयो। काठमाडौं उपत्यकामा रहेका विभिन्न पर्यटक केन्द्रमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक भक्तपुर पर्यटन केन्द्रमा नै भित्रिने गरेको केन्द्रको दाबी छ।
केन्द्र प्रमुख लासिवाले चिनियाँ पर्यटकको लागि सस्तो प्रवेश शुल्कमा भक्तपुरका कला संस्कृतिको बारेमा अध्ययन, अवलोकन भ्रमण गर्न पाइने भएकाले र उनीहरूको रुची पनि यसतर्फ आकर्षित भएकाले चिनियाँ पर्यटकको संख्या बढेको बताउनुभयो। स्वच्छ, सफा, शान्त र पर्यटकका लागि सुरक्षित वातावरणले पनि उनीहरू आकर्षित भएको बताउनुभयो। यहाँ भित्रिने भारतीय पर्यटक भने १८ प्रतिशत रहेका छन्।
भक्तपुरमा आउने पर्यटक वार्षिक २० प्रतिशत बढेको बताउँदै यहाँ सबैभन्दा बढी पर्यटक भित्रिने प्रमुख १० मुलुकमा क्रमशः चीन, भारत, इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिका, जर्मनी र जापानका पर्यटक रहेका छन्। चालू आवको साउनमा २३ हजार २ सय एक, भदौमा १७ हजार ६ सय ४८, असोजमा ३१ हजार ३ सय ८९ र कात्तिकमा ३९ हजार ५५ पर्यटक भक्तपुर भित्रिएका छन्। चालू आवको चार महिनामा मात्र एक लाख ११ हजार २ सय ९३ पर्यटकले अवलोकन गरेको केन्द्रले जनाएको छ।