खोटाङमा असी करोडको अलैँची उत्पादन

जिल्लामा यस वर्ष रु ८० करोडभन्दा बढीको अलैँची उत्पादन भएको छ । गत वर्ष रु ६० करोडको अलैँची निकासी भएको जिल्लामा यस वर्ष रु ८० करोडभन्दा बढीको उत्पादन भएको हो ।

गत वर्षको तुलनामा २० प्रतिशतका दरले उत्पादन घटे पनि यस वर्ष उत्पादित अलँैंचीले जिल्लामा अहिलेसम्मकै बढी मूल्य पाएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ ।

Black-Cardamom-Alaichiगत वर्ष प्रतिमन रु ६० हजारका दरले निकासी भएको अलैँची यस वर्ष रु ८० हजारभन्दा बढी मूल्यमा किनबेच भइरहेको कार्यालयका प्राविधिक सहायक कौशलकुमार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको छ, प्रतिमन रु ८० हजारदेखि ९६ हजारसम्ममा बिक्री भइरहेकाले रु ८० करोडभन्दा बढी नगद जिल्ला भित्रने अनुमान गरेका छौँ ।”

कृषि कार्यालयका अनुसार गतवर्ष प्रतिहेक्टर ० दशमलव ६ मनका दरले अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष प्रतिहेक्टर ० दशमलव ५ मनका दरले उत्पादन भएको छ ।

हाल जिल्लामा अलैँची सङ्कलन तथा निकासीका काम भइरहेको कृषकले बताएका छन् ।

पारिलो तथा चिसो जमिनमा हुने अलैंची जिल्लाको ८०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । फेदी, पाथेका, खार्मी, खार्ताम्छा, सुङ्देल, दिप्सुङ, राखाबाङ्देल, बाकाचोल, याम्खा, खिदिमा, टेम्मालगायत जिल्लाका ३४ भन्दा बढी गाविसमा उत्पादन हुने अलैँची भोजपुर, धनकुटा, धरान र झापाको विर्तामोड हुँदै भारत निकासी हुने गरेको छ ।