नेपाल मै करोड तलब खान्छन्, ‘सि.इ.ओ.’ हरू

झन्डै सात वर्षअघि विश्वमा आर्थिक मन्दी सुरु हुँदा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को तलबलाई मुख्य कारण मानियो । नेपालमा पनि अस्वाभाविक रूपमा बढ्दै गएको सिइओको तलबमा अहिले राष्ट्र बैंकले अंकुश लगाएको छ ।

लोकप्रियता कमाउन र बैंकको धेरै नाफा देखाउन सिइओहरू मनोमानी रूपमा जोखिमपूर्ण ऋण लगानी गर्न अग्रसर हुने गर्छन् । तर, लगानी उठाउन नसकेमा बैंक नै टाट पल्टने अवस्था आउँछ । बैंक डुबेमा यसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्छ ।

अहिले करिब दुई करोडसम्म बैंकका सिइओले तलब लिने गरेका छन् । बैंकका सिइओको तलब–सुविधाले अर्थतन्त्रमा असर पर्ने र अन्य कर्मचारीले पाउने तलबभन्दा सिइओको तलब अस्वाभाविक बढी भएमा बैंकमा असन्तुष्टि ल्याउने देखिएपछि नेपाल राष्ट्र बैंकले नियन्त्रण गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी (सिइओ) को तलबभत्ता र सुविधामा मापदण्ड बनाएर करिब दुई वर्षअघि लागू गरेको छ ।

वाणिज्य बैंकहरूको आर्थिक वर्ष ०६९/७० को वित्तीय विवरणअनुसार नौ वाणिज्य बैंकका सिइओले वार्षिक तलब–भत्ता एक करोडभन्दा बढी बुझ्ने गरेका छन् । राष्ट्र बैंकले लागू गरेको मापदण्डअनुसार तीन वर्षमा बैंक कर्मचारी (सिइओलगायत)का लागि भएको औसत खर्चको पाँच प्रतिशतसम्म वा गत वर्षको अन्त्यसम्म आर्जन भएको संस्थाको कुल सम्पत्तिको बढीमा ०.०२५ प्रतिशतमध्ये जुन न्यूनतम हुन्छ त्यतिबराबर मात्रै सिइओले पारिश्रमिक लिन पाउँछन् ।

ceoतलब र भत्ताबाहेक सिइओले मोबाइल र टेलिफोन सुविधा, सवारीसाधन, चालक, इन्धन, बोनस, सञ्चय कोष, पत्रपत्रिकालगायत सुविधाका लागि पनि पैसा पाइरहेका छन् । सिइओले महँगा गाडी चढ्न थालेपछि राष्ट्र बैंकले यसमा पनि अंकुश लगाएको छ । सिइओले वार्षिक तलबको ५० प्रतिशतभन्दा कम मूल्यको एउटा मात्रै सवारीसाधन राख्न पाउने व्यवस्था छ ।

१४ बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी तलबभत्ता पाउने सिइओ स्ट्यान्डर्ड चार्टर्ड बैंकका जोसेफ सिल्भानुस हुन् । उनले एक वर्षमा करिब दुई करोड रुपैयाँ तलब–भत्ता बुझेका छन् ।

जोसेफ सिल्भानुस : स्ट्यान्डर्ड चार्टर्ड बैंकका सिइओ भारतीय नागरिक जोसेफ सिल्भानुस नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी तलब खाने सिइओ हुन् । उनको वार्षिक तलब करिब दुई करोड रुपैयाँ छ । यसबाहेक उनले बैंकबाट पाउने सुविधाको हिसाब छुट्टै छ ।

सो बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनअनुसार तलब, भत्ता र बोनसबापत एक करोड ९४ लाख ४१ हजार सात सय ३६ रुपैयाँ जोसेफले बुझेका छन् । बैंकका सञ्चालकसमेत रहेका उनलाई चालकसहितको गाडी, आवास, घरेलु कामदार, बिलअनुसारको मोबाइल खर्च भुक्तानी, बिदा तथा भ्रमणभत्तालगायतका थप सुविधा दिँदै आएको छ ।

अनिल ज्ञवाली : नेपालमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकका सिइओ अनिल ज्ञवालीको वार्षिक तलब एक करोड ६९ लाख २० हजार रुपैयाँ छ । ज्ञवालीले नबिल बैंकबाट छोटो अवधिको तलब सुविधाअन्तर्गत एक करोड ५९ लाख ८५ हजार र अवकाश सुविधाअन्तर्गत नौ लाख ३५ हजार रुपैयाँ एक वर्षमा बुझेका छन् । यसबाहेक बैंकले उनलाई बैंकको नीतिअनुसार गाडी, मोबाइल खर्च, पत्रपत्रिकालगायतका थप सुविधा दिन्छ ।

अनिलकेशरी शाह : मेगा बैंकका सिइओ अनिल शाहले गत वर्ष सुविधाबाहेक एक करोड ५९ लाख २५ हजार रुपैयाँ तलब बुझेका छन् । बैंकका अनुसार उनले एक करोड ४७ लाख तलब र १२ लाख २५ हजार रुपैयाँ दसैँभत्ता लिएका हुन् । बैंकले दिने अन्य सुविधाबाहेक शाहको मासिक तलब १२ लाख २५ हजार रुपैयाँ हुन्छ । यसबाहेक बैंकले उनलाई चालकसहित गाडी, सुरक्षागार्ड, मोबाइल खर्च, दुर्घटना/औषधोपचार बिमा र ऐनअनुसारको बोनस दिँदै आएको छ ।

विजय पन्त : जनता बैंकका तत्कालीन सिइओ विजय पन्तले तलब–भत्ताबापत एक करोड ५१ लाख १८ हजार सात सय ४२ रुपैयाँ लिएका छन् । बैंकले पन्तलाई हटाएर अहिले कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक रमेश भट्टराईलाई सिइओ नियुक्त गरेको छ । पन्तले तलब–भत्ताबापत ७७ लाख २० हजार, दसैँखर्च (एक महिनाको तलब) पाँच लाख, सञ्चय कोष योगदानबापत ६ लाख १५ हजार, बोनसबापत नौ लाख दुई हजार पाँच सय १०, टेलिफोन सुविधाबापत १६ हजार नौ सय ८२ रुपैयाँ लिएका हुन् । यसैगरी, बैठकभत्ताबापत ७५ हजार, इन्धन दुई लाख ८९ हजार दुई सय ५० र गाडी सुविधाबापत पाँच लाख रुपैयाँ पन्तलाई बैंकले दिएको थियो ।

ज्योतिप्रकाश पाण्डे : नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख सिइओ ज्योतिप्रकाश पाण्डेको वार्षिक तलब तथा भत्ता एक करोड ४७ लाख ६५ हजार रुपैयाँ छ । उनले गत आर्थिक वर्षमा तलब ४६ लाख २८ हजार, भत्ता ८५ लाख ७५ हजार, दसैँखर्च ११ लाख, सञ्चय कोष चार लाख ६२ हजार रुपैयाँ बुझे । तलबभत्ताबाहेक बैंकले उनलाई बिजुली/पानी, बिलअनुसार टेलिफोन खर्च, चालक, इन्धन र मर्मतसम्भार खर्चसहित गाडी, बोनस, उपदान, पत्रपत्रिका, दुर्घटना/औषधोपचार र जीवनबिमाको सुविधा दिँदै आएको छ ।

किशोर महर्जन : सिभिल बैंकका सिइओ किशोर महर्जनले वार्षिक करिब एक करोड ४४ लाख रुपैयाँ बुझेका छन् । उनको मासिक तलब १२ लाख रुपैयाँ छ । यसबाहेक बैंकले उनलाई दसैँखर्च, बोनस, सञ्चय कोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बिमा सुविधा दिएको छ ।

रत्नराज बज्राचार्य : ग्लोबल आइएमई बैंकका सिइओ रत्नराज बज्राचार्यले तलब, भत्ता र सुविधाबापत एक वर्षमा एक करोड १९ लाख ८८ हजार चार सय १९ रुपैयाँ बुझेका छन् । उनले तलब ६० लाख, भत्ता १८ लाख ४४ हजार तीन सय ८२, सञ्चय कोष, बिदाबापत ६ लाख ५३ हजार ६ सय ९८ र दसैँभत्ता ६ लाख ५३ हजार ६ सय ९८ रुपैयाँ लिएका हुन् । बैंकले उनलाई कार्यसम्पादनमा आधारित पारिश्रमिकअन्तर्गत बोनस २१ लाख ८३ हजार एक सय ४३ र मोबाइल खर्च ५३ हजार चार सय ९८ रुपैयाँ दिएको छ ।

उपेन्द्र पौडेल : एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले वार्षिक तलब भत्ता एक करोड नौ लाख ४८ हजार दुई सय ७ रुपैयाँ बुझेका छन् । तलबभत्ताबाहेक बैंकले उनलाई बिलअनुसारको मोबाइल फोन खर्च र कानुनअनुसार बोनस सुविधा दिँदै आएको छ ।

राजनसिंह भण्डारी : सिटिजन्स बैंकका सिइओ राजनसिंह भण्डारीको वार्षिक तलब एक करोड चार लाख ५६ हजार एक सय ६० रुपैयाँ छ । उनले गत आर्थिक वर्षमा तलबबापत ५२ लाख ४१ हजार ६ सय, भत्ताबापत ३९ लाख ९३ हजार ६ सय, दसैँभत्ता तथा उपहारबापत ६ लाख ९६ हजार आठ सय रुपैयाँ र सञ्चय कोष योगदानबापत पाँच लाख २४ हजार एक सय ६० रुपैयाँ बैंकबाट लिएका थिए । बैंकहरूको संगठन नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका भण्डारीलाई ऐनअनुसार बोनस, गाडी, इन्धन, मोबाइल/टेलिफोन, पत्रपत्रिका र बिमा सुविधा बैंकले दिँदै आएको छ ।

अजय श्रेष्ठ : बैंक अफ काठमाण्डूका सिइओ अजय श्रेष्ठको वार्षिक तलब ८५ लाख २५ हजार रुपैयाँ छ । बैंकले सिइओ श्रेष्ठलाई सञ्चय कोष, औषधोपचार, गाडी, मोबाइल फोन सुविधा र बोनस दिँदै आएको छ ।

पिके महापात्र : भारतीय पञ्जाव नेसनल बैंकको साझेदारीमा स्थापना भएको एभरेष्ट बैंकका तत्कालीन सिइओ पिके महापात्रले गत वर्ष ८४ लाख ६७ हजार ६ सय १४ रुपैयाँ तलबभत्ताबापत बुझेका छन् । उनी बीचैमा हटेका थिए । उनको स्थानमा ल्याइएका सिइओ एक अहलुवालियाले ६ लाख १५ हजार ८९ रुपैयाँ बुझेका छन् ।

कुमार लम्साल : गैरआवासीय नेपालीको लगानी रहेको सानिमा विकास बैंकका सिइओ कुमार लम्सालको वार्षिक तलब ८३ लाख ९५ हजार रुपैयाँ छ । बैंकले उनलाई वार्षिक तलब तथा भत्ता ७९ लाख २९ हजार र सञ्चय कोषबापत चार लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसबाहेक लम्सालले कर्मचारी विनियमावलीअनुसारको सुविधा, कानुनअनुसार बोनस र चालकसहित गाडीको सुविधा पाएका छन् ।

गणेशकुमार श्रेष्ठ : सेन्चुरी बैंकका सिइओ गणेशकुमार श्रेष्ठको वार्षिक तलबभत्ता ५९ लाख ७९ हजार ४९ रुपैयाँ छ । उनको तलब ३६ लाख ८३ हजार दुई सय २६, भत्ता १५ लाख, दसैँभत्ता/उपहार चार लाख २७ हजार पाँच सय, सञ्चय कोषबापत तीन लाख ६८ हजार तीन सय २३ रुपैयाँ छ । यसबाहेक उनलाई बैंकले कानुनअनुसार बोनस, सेटसहित मोबाइल फोन खर्च, गाडी र इन्धन आवश्यकताअनुसार उपलब्ध गराउँदै आएको छ ।

आलोककुमार शर्मा : भारतीय एसबिआई बैंकको साझेदारीमा स्थापना भएको नेपाल एसबिआई बैंकका सिइओ आलोककुमार शर्मासहितको व्यवस्थापन समूहको खर्च बैंकले व्यहोर्छ । सो बैंकका अनुसार व्यवस्थापन समूहका व्यक्तिको आवास भाडा, औषधोपचार खर्च तथा भुक्तानीयोग्य भत्ताबापत ४६ लाख ४६ हजार सात सय २८ रुपैयाँ खर्च भएको छ । उनीहरूको पारिश्रमिक तथा भत्ता सम्झौताबमोजिम एसबिआई बैंक भारतले व्यहोर्ने गरेको छ ।
– सचेन गौतम/नयाँ पत्रिका

  • Post category:अर्थ