लाखौं नेपालीहरूले समुन्द्र तरेपछि नेपाली संस्कृति र साहित्यले पनि सात समुन्द्र पार गरेको छ। समुन्द्रपारको साहित्य ‘डायस्पोरा साहित्य’ रूपमा चर्चित बन्दैछ भने कसैकसैले ‘डलर साहित्य’ पनि भनेको सुनियो। पश्चिमी देशतिरको भनेपछि हिजोआज डलर वा युरोको ट्याग लगाइदिने चलन जो फस्टाइरहेको छ!
हालै एक अनलाइन पाटीमा ‘डलर साहित्य’ देखेपछि मेरा आँखा टाठा भए। पढेपछि लाग्यो- ‘यो त ‘टेबलोइड’ लेख रहेछ- साहित्य बारे।’ चर्को विशेषणले धेरैको आँखा त तान्छ, तर विषयवस्तुको गाम्भीर्यता चाहिँ फास्सफुस्स भएपछि त्यो मर्छ। टुकुचामा बगाइ दिए हुन्छ।
उसो त नेपाली ‘डायस्पोरा’ साहित्यको शब्दप्रति नै सहमति-विमति छ। तैपनि, त्यसले दर्शाउन खोजेको अर्थको सारलाई लिउँ। बिचरो नवजात ‘डायस्पोरा साहित्य’ बामे सर्न नपाउँदै कलिलैमा डलर र गफाडीको संज्ञा पाउन थालेको छ।
डायस्पोरा लेखनको बारेमा जान्न त्यहाँको वास्तविकता बारे बुझ्नु जरूरी छ। व्यवसायिकता धेरै उन्नत नभए पनि नेपालमा एकथरि मान्छेहरू छन् जो बिहान उठेदेखि नसुतेसम्म लेखन कै बारेमा चिन्तन गर्ने र त्यसैसँग सम्बन्धित पेशा गर्छन्। डायस्पोराका लेखक भनेका चाख वा रहरले लेख्ने हुन्। तिनको पूर्णकालीन पेशा नितान्त फरक हुन्छ। प्रायशः तिनको स्कुलिङ नेपाल कै सेरोफेरो हो। बस् ! डलर/युरो फल्ने देशमा बस्छन्। केही डलर कै रामरमाइलोमा भुल्छन्। केही आफ्नो माउ देशको भाषा-संस्कृतिप्रति माया राखेर स्वअध्ययनले लेख्छन्। त्यो लेखनले न तिनले डलर फल्ने देशमा कुनै ‘पेनी’ पाउँछन्, न माउ देशका प्रकाशन गृहले फुटेको पैसो दिन्छन्। सीधाभन्दा, आत्मरतिका लागि वा शौखका रूपमा लेख्छन्।
निश्चित रूपमा, नलेख्नेको बीचमा लेख्नेको चर्चा हुन्छ। लेख्नेहरूको हुल भएपछि स्तरीय लेख्नेको नाम हुन्छ। प्रतिस्पर्धा बढेपछि नै स्तर उकासिने हो। सुन्तलाको बोट पनि भोलिपल्टै हर्लक्क हुर्कंदैन।
जर्मनीमा ६ हजार फुटबल क्लब छन्। त्यसैले त्यहाँ फुटबल धेरै खेलिन्छ र स्वभावतः प्रतिस्पर्धा पनि प्रचण्ड छ। अनि त अब्बल दर्जाको राष्ट्रिय टीम छ। साहित्य पनि त्यस्तै हो। जुनसुकै साहित्यमा पनि थुप्रै लेखिन्छन्। थोरै पठनीय-मननीय हुन्छन्, र अत्यन्त न्यून ‘मास्टर पिसेज्’ बन्छन्। घरदेशकाले लेख्दा पनि त्यही हो, परदेशकाले लेख्दा पनि त्यही हो।
थोरै लेखेर धेरै चर्चा खोज्नु पनि ‘सार्वभौमिक सत्य’ नै हो। फोकटमा मान्छेले किन लेख्छ? मान-सम्मान खोजेर नै हो। मान्छेले जीवनमा अनेक रस्साकस्सी गर्छ, मान-सम्मान कै लागि। मोफसल, काठमान्डु खाल्डो र डायस्पोरा जो जहाँ भए पनि सबैलाई मान-सम्मान पाउँला, कदर होला भन्ने लोभ हुन्छ। जसले त्यसभन्दा माथि उठेर लेख्छ, ‘निर्वाण’ पाएछ भन्दा हुन्छ।
अझै पनि नेपाली साहित्यमा समीक्षा गरिदिने र चर्चित बनाइदिने भनेको काठमाडौंका मुस्किलले औंलामा गन्न सकिने ‘समिक्षक’ हरूको एकाधिकारको कुरा हो। तिनैले कुशल लेखकलाई छायाँमा राखी राख्न सक्छन् र औसत लेखकलाई ‘नामूद’ स्रष्टा बनाइदिन सक्छन्- तात्कालिक अवधिका लागि। त्यसैले त, पछिल्लो केही वर्षहरूलाई हेर्दा तिनैको चर्चा छ जो मिडियामा साहित्यको बिट समात्नेका नजिक छन्।
सबैले अत्युत्तम दर्जाको लेख्छन् भन्ने छैन। को अब्बल दर्जाको हो भन्ने कुरा समयान्तरले देखाउने हो। हो, कसैको लेखनमा शब्दहरू गुञ्जन्छन् र मनको तालमा लय मिल्छ। लेखनमा एक त रचनात्मक पक्ष हुन्छ, अर्को यान्त्रिक पक्ष हुन्छ र त्यसको परख गर्ने पाठक हुन्छ। रचनात्मक पक्षमा महान पात्रहरू, दामी डायलग, चखिलो कथावस्तु आदि आउँछन्। यान्त्रिक पक्षमा ब्याकरणको महत्व, शैली, भाव, भाषिक प्रयोग, एकरूपता जस्ता कुराहरू पर्छन्। पाठकको रूचि अजीबको पक्ष हो। त्यो ‘ट्रिकी’ बन्नसक्छ। सामान्यतः लेखनमा रचनात्मक र यान्त्रिक पक्ष दरो भए पाठकको मन जित्न सकिन्छ, तैपनि पाठकको प्रतिकृया अप्रत्यासित हुनसक्छ।
रचनात्मकता र लेखन कला दुबै नभएरै पनि ठूलो पाठक बनेका उदाहरण प्रशस्त छन्। खासगरी समसामयिक घटना बारे लेख्दा त्यस्तो भएका पाइन्छन्। लेखन राम्रो-नराम्रो मान्ने कुरा वैयक्तिक हो। कुरा यत्ति हो, धेरै लेखिनुपर्छ। विदेशमा बस्नेले लेखे डलर साहित्य, धनीले लेखे बुर्जुवा साहित्य, अनि मोफसलकाले लेखे पाखे साहित्य भनेर हाँसो गर्नु सर्जकको सराहाना गर्न नजान्नु हो।
पुस्तक लेख्दैमा धेरै आशा गर्ने कुरा हुँदैन, तैपनि लेख्नेको कदर र मूल्याङ्कन हुनै पर्छ। लेखनमा प्रतिस्पर्धा र व्यवसायिकता होस्, गुणस्तर त्यहीँबाट ठाडो उकालो लाग्छ।
-पंचम अधिकारी
( यो लेख ‘माइसन्सार डट कम’ ब्लगबाट लिइएको हो ।)