जर्मनी विश्वविजेता

ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा एक सय १३ औं मिनेटमा गोल गरेपछि जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण गरेर ‘भली’मा गोत्जेले गरेको प्रहार सुन्दर गोल बनेको थियो । विश्वकपमा कीर्तिमानी सर्वाधीक १६ गोल गरेका मिरोस्लाभ क्लोजको स्थानमा गोत्जे ८८ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

Gotse Germanyनिर्धारित ९० मिनेट रोमाञ्चक रह्यो । दुवै टिम आक्रमक देखिए । तर, गोल भने भएन । अधिकांश समय जर्मनीले बल नियन्त्रणमा राख्यो । उसले मुभ पनि बुन्यो । तर, बल पाउँदा एक्कासी राम्रा अवसरहरू अर्जेन्टिनाले पनि सिर्जना गर्यो । पहिलो हाफमा गोन्जालो हिगुइन तथा दोस्रो हाफमा कप्तान लियोनल मेसी र सर्जियो पालासियोले गोलका स्वणिर्म अवसर उपयोग गर्न सकेनन् ।
German win final
तथ्याङ्कअनुसार खेलको ६४ प्रतिशत समय जर्मनीले बल नचाएको थियो भने ३६ प्रतिशत समय अर्जेन्टिनीहरूको पहल रह्यो । दुबै देशले विपक्षीको पोस्टमा करिब १०/१० शट हानेका थिए । त्यसमध्ये गोलपोस्टमा निशानी रहेका ५ जर्मन शटहरू अर्जेन्टिनी किपरले रोके भने अर्जेन्टिनी शटहरू पोस्ट परिपरी खेर गए ।
जर्मनी पहिलोपल्ट १९५४ मा विश्वकप च्याम्पियन भएको थियो । त्यसपछि उसले १९७४ र १९९० मा जित्यो । र, अहिलेको सफलतासँगै जर्मनी चौथोपल्ट च्याम्पियन भयो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली टिम पनि बन्यो । इटालीले पनि चारपल्टै विश्वकप जितेको छ । यसपल्टको आयोजक ब्राजिल सर्बाधिक ५ पल्टको च्याम्पियन हो । अर्जेन्टिना २ पटकको च्याम्पियन हो ।
German celebrates
जर्मनीको सबैभन्दा राम्रो पक्ष ‘टिम वर्क’ देखियो । उसका खेलाडीको प्रदर्शन प्रत्येक पोजिसनमा अब्बल रह्यो । सेमिफाइनलमा ब्राजिलविरुद्ध ७-१ को जित निकालेको उसले फाइनलमा अर्जेन्टिनाको भने कडा चुनौती बेहेार्नुपर्योव । तैपनि उसले अर्जेन्टिनालाइ दबाबमा राखीरह्यो ।
Golden ball to Messi
अहिलेको विश्वकै सर्बोत्कृष्ट फुटबलर मानिएका मेसीको नाम ज्यादा प्रचारमा रहे पनि रक्षापंक्तीका मास्केरानोले अर्जेन्टिनी टीमको खम्बा बनेर खेले र जर्मन टिमवर्कलाइ रोकी रहे । चारपल्टका फिफा बर्ष खेलाडी मेसीले अर्जेन्टिनालाई ‘लिजेन्ड’ डिएगो म्याराडोनाले २८ बर्षअघि दिलाएको सफलताको पुनरावृत्ति गर्लान् की भन्ने आशा साकार हुन सकेन । कतिपय खेलविज्ञहरूले उनले बार्सीलोना क्लबबाट खेले जस्तो खेल देखाउन नसकेको र थकित देखिएको टिप्पणी गरेका छन् ।
४ वर्षपछि सन् २०१८ मा रसियामा अर्को विश्वकप हुनेछ ।

विशेष पुरस्कार :
गोल्डेन बल- लियोनल मेसी, अर्जेन्टिना
गोल्डेन बुट- जेम्स रोडि्रग्वेज, कोलम्बिया (६ गोल)
उत्कृष्ट गोलकिपर- म्यानुएल नोयर, जर्मनी
उत्कृष्ट युवा खेलाडी- पल पोग्बा, फ्रान्स