एक भोट बराबर पाँच हजार रूपैयाँ

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

निर्वाचन पर्यवेक्षण समितिका तर्फबाट विज्ञ समूहले करिब छ महिना लगाएर गरेको अध्ययनअनुसार, तीन चरणमा भएको स्थानीय निर्वाचनमा जम्मा १८ अर्ब ४६ करोड रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। उम्मेद्वार र उनका समर्थकले गरेको खर्च योभन्दा झण्डै तीन गुणा बढी छ। उम्मेद्वार र उनका समर्थकहरूले ५० अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको अध्ययनको निष्कर्ष छ। समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजरकोट जिल्लालाई नमुनाको रूपमा लिई अध्ययन गरेको बताए।