कहाँ जान्छ तस्करीको सुन ?

सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा  कारोबार भइरहेको छ । पछिल्ला वर्षमा विभिन्न नाकाबाट भन्सार छल्दै ल्याएका सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।

पछिल्ला तीन आर्थिक वर्षमा तस्करबाट ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि)मा पक्राउ परेको ३ सय ९२ किलोग्राम भन्दा बढी (३९२.३२९)  सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भइसकेको छ । यो गत आर्थिक वर्ष सम्मको मात्रै तथ्यांक हो ।

यही भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट अहिलेसम्मकै बढी परिमाणमा ८८ किलोग्राम सुन पक्राउ गरेको छ भने यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले १५ किलोग्राम सुन पक्राउ गरेको थियो । सो सुन समेत राष्ट्र बैंकले राखेको भए पनि अनुसन्धानका क्रममा भएकाले गलान नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन टक्सार महाशाखाले जनाएको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न नाकाबाट १ किलोग्राम भन्दा बढी मात्रामा पक्राउ परेको सुन राष्ट्र बैंकको ढुकुटीमा २ सय ६४ किलोग्राम रहेको छ ।  जसमा विभिन्न मितिमा राष्ट्रिय अनुसन्धान विभाग पुल्चोकले राष्ट्र बैंकलाई बुझाएको सुन ३३ दशमलव ७ किलोग्राम रहेको राष्ट्रबैंक टक्सार महाशाखाले जनाएको छ ।

सो आर्थिक वर्षमा तातोपानी भन्सार नाकाबाट ६८ दशमलव २३८ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ ।  यस्तै आव २०७१÷०७२ मै तस्करबाट समातेको ६४ दशमलव ५५६ किलोग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राष्ट्रबैंकलाई बुझाएको उल्लेख छ ।

राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको सुनको तथ्यांकमा राजस्व अनुसन्धान कार्यालय इटहरीले सोही आर्थिक वर्षमा ७ दशमलव ९९६ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा गरेको छ ।  यसैगरी सोही आर्थिक वर्षमा पथलैया भन्सार कार्यालयले  १० दशमलव २३४ किलोग्राम सुन राष्ट्र बैंकलाई बुझाइएको छ ।  यसैगरी गौर भन्सार कार्यालयबाट सोही आर्थिक वर्षमा ५ दशमलव ३२९ किलोग्राम सुन प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सोही आर्थिक वर्षमा विभिन्न नाकाबाट अबैध रुपमा नेपाल ल्याइएको ७४ दशमलव ९५६ किलोग्राम सुन सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायले राष्ट्र बैंकलाई बुझाएको तथ्यांक छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ठूलो परिमाण (१ किलोग्रामभन्दा माथि) ३३ दशमलव ३७३ किलोग्राम सुन राष्ट्रबैंकले आफ्नो ढुकटीमा जम्मा भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७३ मा अबैध रुपमा नेपाल ल्याइएको ठूलो परिमाण (१ किलोग्राम भन्दा माथि) ९४ दशमलव २०३ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको छ ।

जसमध्ये  सबैभन्दा धेरै परिमाणमा काठमाडौं जिल्ला अदालतले ४७ दशमलव ८८४ किलोग्राम सुन राष्ट्र बैंकको ढुकुटीमा जम्मा भएको तथ्यांक छ ।  यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३१ दशमलव १०६ किलोग्राम बुझाएको राष्ट्रबैंकले जनाएको छ ।

यसैगरी सोही आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयबाट प्राप्त ६ दशमलव ३८४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुककुटीमा जम्मा भएको छ । राजस्व अनुन्धान विभाग पुल्चोक कार्यालयले पनि विभिन्न समयमा गरी ५ दशमलव ६१३ किलोग्राम सुन राष्ट्रबैंकको ढुकुटीमा जम्मा गरेको छ ।

सोही आर्थिक वर्षमा भन्सार कार्यालय पथलैयाले २ दशमलव ६९८ किलोग्राम सुन राष्ट्रबैंकलाई बुझाएको छ भने भन्सार कार्यालय भैरहवाले १ दशमलव १६९ किलोग्राम सुन बुझाएको तथ्यांक छ ।  यस्तै सोही आर्थिक वर्षमा विभिन्न कार्यालयबाट ३ दशमलव २१४ किलोग्राम सुन पनि राष्ट्रबैंकको ढुकुटीमा जम्मा भएको छ ।

चालु आर्थिक वर्षमा प्रहरीले अहिलेसम्मकै ठूलो परिमाणमा सुन पक्राउ गरेको छ ।  काठमाडौंको  क्षेत्रपाटीबाट यही भदौ १९ गते प्रहरीले ८८ किलो सुन समातेको थियो । सो सुन पनि राष्ट्र बैंकसँगै रहेको छ । यसअघि भदौ १५ गते काठमाडौं र जनकपुरबाट प्रहरीले पक्राउ गरेको १५ किलोग्राम सुन समेत राष्ट्र बैंकले राखेको छ ।

यद्यपि पछिल्लो सुनबारे सम्बन्धित निकाय अनुसन्धानकै क्रममा रहेकाले गलान भइनसकेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर सुन तस्करी पञ्चायतकालबाटै शुरु भएको विज्ञहरु बताउँछन् । २०४२ सालदेखि नै पञ्चहरु सुन तस्करीको विवादमा मुछिएका तथ्यांकहरु भेटिन्छन् । अहिलेसम्म विभिन्न समसयमा पक्राउ परेको  ४ हजार किलोग्राम भन्दा बढी सुन रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • लोकान्तर