शङ्कर कोइराला पुरस्कार भाउपन्थीलाई

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा विशिष्ट आख्यानकार शङ्कर कोइरालाको ८८औँ जन्मजयन्ती मनाइयो । सो अवसरमा रु. १० हजार राशिसहितको शङ्कर कोइराला स्मृति पुरस्कार आख्यानकार भाउपन्थीलाई अर्पण गरियो ।

प्रमुख अतिथि वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले भने— शङ्कर कोइराला अत्यन्त सरल, शालीन र लज्जालु प्रकृतिका लेखक हुनुहुन्थ्यो । उहाँका कृतिहरू उत्कृष्ट भएपनि प्रचारबाजीमा नपरेका हुँदा खैरिनीघाट बाहेक अन्य कृतिहरू ओझेलमा परेका छन् । हामीले नेपाली साहित्यका उत्कृष्ट कृतिहरूको पहिचान गर्नुपर्छ र अनुवाद गरेर नोबेल साहित्य पुरस्कारका लागि प्रस्तावित गर्नुपर्दछ ।

समालोचक डा. तुलसी भट्टराईले शङ्कर कोइरालाका ५०वटा कृतिहरूको चर्चा हुनुपर्ने उल्लेख गर्दै श्री कोइरालाको नाममा स्थापित पुरस्कार भाउपन्थीलाई दिइएकोमा सत्पात्रलाई छनोट गरिएको कुरा उल्लेख गरे भने पुरस्कृत साहित्यकार भाउपन्थीले पनि शङ्कर कोइरालाको नाममा पुरस्कार पाउँदा आफू अत्यन्त प्रसन्न भएको बताए ।

समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका सचिव  केशवराज पन्तद्वारा लिखित आत्मसंस्मरण ‘स्मृतितरङ्ग’ पनि विमोचन भएको थियो भने उक्त कृतिका बारेमा प्रा.डा. कृष्णचन्द्र शर्माले समीक्षात्मक मन्तव्य दिँदै भनेका थिए— आत्मसंस्मरण लेख्न सजिलो छैन । आत्मसंस्मरणका पाठले लेखकको जीवनी पढेर त्यसबाट प्रेरणा पाउन सक्नुपर्दछ ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कृतिकार केशवराज पन्तले लेखकीय मन्तव्य दिएका थिए भने प्रा. रामप्रसाद दाहाल, डा. लेखप्रसाद निरौला, यादव भट्टराई र शङ्कर कोइरालाका सुपुत्र अनिल कोइरालाले पनि मन्तव्य राखेका थिए ।