आधुनिक गीत लेखनबारे बहस

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पुनर्गठनपछि पहिलो बृहत् कार्यक्रमस्वरुप संगीत विभागको आयोजनामा राजधानीमा आधुनिक गीत लेखन र प्रभावबारे गोष्ठी सम्पन्न गरेको छ। बिहीबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आथित्यमा राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित कार्यक्रममा नेपालका पुराना साहित्यकार र गीतकारदेखि नयाँ साहित्यकार तथा गीतकार सहभागी थिए।

aadhunik geet lekhanकार्यक्रममा गीतकार तथा साहित्यकार राजेन्द्र थापाले आधुनिक गीत लेखन र प्रभाव बारे ८ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए। थापाले कार्यपत्रमा नेपालमा आधुनिक गीतको इतिहासदेखि वर्तमान अवस्थामा समय परिस्थितिले गीत लेखनमा पारेका प्रभावका बारेमा चर्चा गरेका थिए। उनले आधुनिक भनेको त्यसको कालको स्रोता अनुकूलको संगीत भएकाले त्यही कालको स्रोता अनुहार हुने बताए। उनले निराश स्रोताको गीतको अनुहारमा नैराश्य र हसमुख स्रोताको अनुहारमा हासपरिहास हुने कार्यपत्रमा उल्लेख गरेका छन्। उनले आधुनिक गीतलाई प्रयोगवादी, प्रगतिशील र परिवर्तनशीलरूपमा व्याख्या गरे।

यस्तै कार्यक्रममा गीतकार डा. कृष्णहरि बरालले थापाको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालमा आधुनिक गीतको शुरुआतभन्दा पनि लोक गीतको इतिहास धेरै पुरानो रहेको उल्लेख गर्दै आधुनिक गीतको चर्चा गर्दा लोकगीतलाई बिर्सन नहुने स्मरण गराए। उनले गीत तथा संगीतका सर्जकले कसैको पनि नक्कल नगरी आफ्नै मौलिक पहिचानलाई बनाउन लागि पर्नुपर्ने बताए।

त्यसै गरी फिल्म निर्देशक तथा गीतकार यादव खरेलले गीत लेखन समय सापेक्ष परिवर्तन भए पनि गीतको भावमा भने परिवर्तन नहुने बताए। उनले साहित्य सिर्जनाका लागि लयको पनि उत्तिकै महत्त्व रहेको आधुनिक गीत लेखनमा त्यसको प्रभाव रहेका बताए। यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले आधुनिक गीत भित्री हृदयबाट लेख्नुपर्ने चर्चा गर्दै गीत सदैव हृदयस्पर्शी हुनुपर्ने औंल्याए। उमेरले ९६ वसन्त पार गरेका राष्ट्रकवि घिमिरेले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई भविष्यमा यस्तै कार्यक्रमहरु गर्नका लागि सुझावसमेत दिए।