चितवन जिल्लाको अति व्यस्त नगर नारायणगढमा अक्सरत व्यापार व्यवसायमा संलग्न व्यापारी बसोबास गर्छन्। बाटोमा परेको बजार भएको कारणले गर्दा यहाँ ७५ जिल्लाबाट नै मान्छेको ओइरो लागेको देखिन्छ। यस खाले अति व्यस्त बजारमा मूल सडकमा पुष्पाञ्जली ट्रेडर्सको साहु भएर पनि यिनले आफूलाई धेरै वर्ष चिनाए। खानु र पिउनु जीवन भए, जिउनुको अर्थ के ? महाकवि देवकोटाको उक्तिबाट प्रभावित भई जीवन जिउने क्रममा मान्छेका जिजीविषाहरू मनमा राखेर साहित्यकार प्रेमविनोद नन्दन सामाजिक कार्यमा, साहित्यिक अभियान र सिर्जनामा जुटिरहेका छन्। हाल यिनी पुष्पाञ्जलीबाट संन्यास लिइसकेका छन्। अप्ठेरोमा फलेको फर्सीजस्तो भएर नारायणगढमा प्रेमविनोद नन्दन आफ्नै यात्रामा लाग्ने सुर र धुन बोकी व्यापार व्यवसायमा लागेर पनि साहित्यिक अभियानमा साथ दिएर, सिर्जनामा मन राखेर मान्छे जिउनुको अर्थ देखाइरहेका छन्।
१३ वर्षको छँदा नै वि.सं. २००५ मा लमजुङ तार्कुघाटमा जनकल्याण पुस्तकालय खोल्न सक्रिय भूमिका खेल्ने कवि तथा गीतकार प्रेमविनोद नन्दनलाई वि.सं. २०१५ मा कवि राजा महेन्द्रले उनको गीत र कविताबाट प्रभावित भई रू. ३००।– इनामस्वरूप प्रदान गरेका थिए। १० वर्षको उमेरमा नै पिताको माया गुमाएका, दुःखबाट हुर्केका, निम्न किसान वर्गको एकजना साधारण हैसियत बोकेका कवि नन्दनले दुःखका थुप्रै अनुभवहरू बटुलेका छन्। अनुभवबाट खारिएर आएको समाजपरक व्यक्ति भएका कारणले उनका गीत तथा कविताहरूमा मान्छेका मर्म, माया, दुःख र वेदनाका स्पर्शहरू अनुभूत गर्न सकिन्छ।
पुर्खाको घर भक्तपुर बताउने नन्दनको बोलाउने नाम सूर्यलाल हो। दुई वर्षसम्म शिक्षण सेवामा संलग्न भइसकेका उनले थुप्रै कष्ट, हन्डर झेलेर जीवनमा धेरै वर्षसम्म व्यापार व्यवसायमा आफूलाई संलग्न राखेर रातको शान्तमय वातावरणमा आफ्नो सिर्जना कापीमा खोप्ने गर्छन्। साहित्यकारहरूले सबै विचार, दर्शन र साहित्यको अध्ययन गर्नुपर्छ। अध्ययनविना साहित्यलाई मार्मिक बनाउन सकिँदैन भन्ने नन्दनले नेपाली सिनेमाहरूका लागि पनि थुप्रै गीतहरू लेखेका छन्। उत्कृष्ट गीतकारका रूपमा रेडियो नेपालले मान्यता प्राप्त गरिसकेपछि उनीद्वारा रचित गीतहरू अर्काकै नाममा प्रचारित हुँदा र पुरस्कृत हुँदाको घटनादेखि तर्सेर उनले रेडियो नेपालमा गीतहरू पठाउने कार्य रोकेको देखिन्छ।
तीन छोरा र तीन छोरीका पिता भएर जीवनसङ्गिनी शीतलकुमारीसँग माया साटासाट गरेर ७९ वर्षको उमेरमा पनि समाजका लागि चेतना बाँड्न लागिपरिरहेका एकजना स्वाभिमानी स्रष्टाकै रूपमा परिचय गराउन मिल्ने प्रतिभा हुन् प्रेमविनोद नन्दन। निरन्तर साधनारत रही उदात्त मानवीय प्रेम, प्रकृतिप्रेम, राष्ट्रप्रेम, प्रणय भाव, आशावादी जीवन दृष्टि, युगबोध आदि सुक्षम अभिव्यक्तिहरूको सुन्दर गीत र कविताकै स्रष्टाकै रूपमा परिचित गराउँदा हुने व्यक्तित्व हुन् प्रेमविनोद नन्दन।
भाषा, साहित्यका क्षेत्रमा छ दशकदेखि सेवारत सिर्जनाकर्मी नन्दन सत्यलाई अझैं सुललित, तथ्यलाई अझ तरलरूपमा शब्दातीत संवेगहरूद्वारा प्रक्षेपण हुने संवेदनाको स्वर नै साहित्य बनाउनुपर्छ भन्छन्। साहित्य साधनामा समर्पित हुने इच्छा बोकेर जीवन्त रहेका उनको परिभाषामा जीवन भनेको दियोजस्तै अँध्यारोसित सङ्घर्ष गरिरहनु हो। स्वदेशी साहित्यकारहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेबाट विशेष प्रभावित हुने उनी विदेशी साहित्यकारहरूमा पाब्लो नेरुदा, टाल्सटाय, माक्सिम गोर्की, महादेवी बर्मा आदि मन पराउँछन्।
वि.सं. १९९२ जेठ १९ गते बन्दीपुरमा जन्मेका कवि नन्दनलाई उनले गरेको साहित्यसेवाका लागि चितवन साहित्य परिषद्बाट प्रतिभा पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, चितवन वाङ्मय प्रतिष्ठानबाट अभिनन्दनसहित गरेर २०५२ मा सम्मान भएको देखिन्छ। पछि २०५४ मा नारायणी वाङ्मय प्रतिष्ठानबाट अभिनन्दन प्राप्त गरिसकेपछि उनलाई वि.सं. २०५५ मा नै उत्कृष्ट गीत सिर्जना गरेबापत छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरिएको देखिन्छ। यसै गरी जनमत प्रकाशन, बनेपाबाट ‘गणेश–खिलकुमारी दुवाल सम्मान’ले सम्मानित यिनी अन्य दर्जनौं संस्थाबाट सम्मानित छन्।
उनका प्रकाशित काव्यकृतिहरूमा झटारो (२०११), अञ्जली (२०१५), सपनीमा ब्यूँझेर (२०२३), विपनी पाइलाहरू (२०५२), भीडमा एक्लै (२०६३) र ऐनाभित्रको आकाश (२०६३) गीतसङ्ग्रहहरू प्रकाशित भएको देखिन्छ। अन्य विधाहरूमा भन्दा गीतलेखनमा विशिष्टता प्राप्त गरिसकेका नन्दन गीति क्षेत्रतिर उन्मुख भएका कारणमा गीत मेरो बाल्यकालदेखि रूचिको विषय भएको र खास गरीकन म लोकगीतहरूको प्रभावले गीत सुन्न मात्र होइन, आफैं गाउनतिर आफूलाई तयार पार्न थालें। त्यही क्रममा शुरू–शुरूमा नेपाली गीतको अभाव पनि थियो। देवकोटा, समका केही गीतहरू विदेशबाट खासगरी भारतीय रेडियोहरूबाट सुन्न पाउने अवसरमा नेपाली भाषामा लोकगीतहरू लेख्न र सुन्न सकिन्छ भन्ने कुरामा आफू विश्वस्त हुँदै गीत लेखनको अभ्यास थालिएको हो भन्छन्। गीतकार तथा कवि नन्दनका भावनाहरू कवितामा जीवन्त छन्, उनी आफ्नो कृतिहरूमार्फत देशको व्यथा, मान्छेको मर्म, सुन्दर गीतिलयमा पोख्न सिपालु छन्। जीवन यसरी बाँच्नुपर्छ, उनी कवितामा आफ्नो भावना यसरी पोख्छन्–
जिन्दगी हो ज्यूँन मर्न यहाँ सँगै सिक्नुपर्छ
आँधी हुरीमा हाँस्न सक्ने साहस पो झिक्नुपर्छ।
जिन्दगीको लहरसित लहराउँदै बग्नुपर्छ
हारजीतसँगै खेल्दै यो जिन्दगी सक्नुपर्छ।
जिन्दगी हो रात दिन सँगै यहाँ काट्नुपर्छ
मर्ने चोला नमर्नलाई जिन्दगी नै साट्नुपर्छ।
गीत–कविता लेख्नु भनेको भाखा र छन्द मिलाउनु मात्र होइन। त्यसमा त भावको झुल्का, चेतनाको संवेग मानवीय संवेदनाका तरङ्गहरू सुसेल्न सक्नु पो पर्छ। गीत कविता भनेको त संस्कृति हो, मानवीय संवेग हो, प्रकृति र प्रणयभित्र लुकेको मानवीय मर्म पनि हो। प्रेमविनोद नन्दनले आफ्ना गीत कविताहरूमार्फत मान्छेकै भावना, देशको संस्कृति, प्रकृति र प्रणयभित्र लुकेका मान्छेका मर्महरू व्यक्त गरेका छन्। त्यसैले उनका गीति कविताहरू जीवन्त छन्। राष्ट्रियस्तरमा नै गीत लेखनको क्षेत्रमा आफ्नो नाम र क्षेत्र बनाइसक्ने नन्दनले आफ्नो गद्यकविता लेखनमा पनि गीतगेय र लय दिन सफल छन्।
गीति संरचनामा काव्य, भाव वा विषयवस्तु र शैली शिल्पका आधारमा विवेचना गर्दा भन्न सकिन्छ नन्दनका गीति संरचना कमजोर छैनन्। आफ्नो संरचनालाई उनी कसरी मूल्याङ्कन गर्छन्, उनको भनाइ यस्तो छ– काव्य, गीत अथवा साहित्यका कुनै पनि विधा प्रेमविनाको जीवन र जगत्विनाको अभिव्यक्ति शायदै होला। फरक यति नै हो, जीवन र जगत्बाट पनि प्रभावित हुन्छ, साहित्यको विविध विधाको माध्यमबाट तिनलाई अभिव्यक्ति गरिन्छ। साहित्य मनोरञ्जनका लागि मात्र लेखिने विषय होइन। साहित्य भनेको नै जीवन र जगत् प्रतिविम्बित स्पर्शहरू हुन्। साहित्य चेतना हो, मान्छेभित्रको भावना हो भन्न रुचाउने कवि तथा गीतकार नन्दन समाज, राष्ट्र र जनताप्रति सचेत र समर्पित छन्। सकेको गर्ने हो, गरिरहन्छु भन्ने भावनाले जीवन्त बनिरहेका नन्दन साँच्ची नै भन्ने हो भने नारायणगढका एकजना संस्कृतकर्मी साहित्यिक पहरेदार हुन्। व्यापार व्यवसायमा सक्रियतापूर्वक लागेर पनि आफूलाई धन र भौतिक सुखका मात्र लिप्त नबनाई साहित्य सिर्जनामा, साहित्यिक अभियानमा, समाजसेवामा लागिरहन सक्नु नै प्रेमविनोद नन्दनको चिन्तनको महानता हो।
बाटोमा निस्केपछि हिँड्न र गन्तव्यमा पुग्न अल्छी मान्नहुँदैन। हन्डर मान्छेकै बाटोमा तेर्सिन्छ, बाटो देखेर भयभीत हुनुहुँदैन हिँड्नेहरूलाई नै गाह्रो पर्छ, सुस्त मन बोकेर सुसाउनुहुँदैन। प्रेमविनोद नन्दनजस्ताहरू हिँड्रिहनुपर्छ, के विश्रान्तिले मान्छेलाई जीवन्त बनाउँछ र ? प्रेमविनोद नन्दनकै भाखामा उनको बाटोलाई मनमा राखेर म पनि यस्तै आँखामा गीत गाएर भुल्न चाहन्छु–
बाटो खन्न सिपालु कर्मीहरूको बाटो कतै बन्दछ
बाटो बन्न तयार होऊ तब यो बाटो नयाँ बन्दछ
बाटो हुँ म बन्द छैन मनको बाटो कहाँ बन्द भो
यात्रा गर्न निकाल साइतहरू यात्रा कहाँ मन्द हो ⁄
– मोहन दुवाल