अमेरिकामा पनि छ, नेपालीपन

आफ्नो मौलिक संस्कार, संस्कृति तथा भाषा, धर्म जोगाउन अमेरिकामा रहेका नेपालीलाई धौधौ छ। उनीहरूले भावी पुस्तालाई हस्तान्तरण गर्नु दायित्व सम्झिएका छन्। ‘नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र भाषा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो’, ८६ वर्षीय हस्तबहादुर खड्का भन्छन्। उनी २० वर्षदेखि न्युयोर्कमा बस्दै आएका छन्।

हस्तबहादुरको पुस्ता र अधबैंसेहरूको समूह नेपाली धर्म, संस्कार जगेर्ना गर्न सक्रिय भएर लागेको पाइन्छ। अमेरिकाका अधिकांश राज्यमा नेपाली मन्दिर छन्। नयाँ पुस्तालाई नेपाली भाषा सिकाउन कक्षा सञ्चालन भइरहेको छ।

आधिकारिक तथ्यांक नभए पनि अमेरिकामा ६ लाख नेपाली रहेको अनुमान छ। अधिकांश राज्यमा नेपाली बस्ती छन्। एनआरएनए अमेरिकाको शाखा २१ राज्यमा विस्तार भएको छ। यसले गर्दा यहाँ रहेका नेपाली संगठित भएको देखिन्छ।

न्युयोर्क कुइन्सस्थित रिजउड नेपाली मन्दिरका पुजारी हरिनारायण सापकोटाले स्वस्थानी पूजापाठ गरे। हरेक साँझ स्वस्थानी नेपालीको लाम लाग्यो। यो मन्दिर न्युयोर्क क्षेत्रका नेपालीको आस्थाको प्रतीक हो। यहाँ जनैपूर्णिमाजस्ता पर्वमा जनै बाँध्न, हरेक दसैंमा दुर्गा पुजा गर्न, कुशेऔंशीमा पितृको सम्झना गर्दै पूजा गर्न नेपाली आउने गर्छन्। ‘हामीले हाम्रो संस्कार, संस्कृति जोगाउनु र जन्मभूमिप्रतिको माया सदियौंसम्म कायम राख्न काम गरिरहेका छौं’, रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइराला भन्छन्।

न्युयोर्कमा सयभन्दा बढी संघसंस्थाले जाति, धर्म र नेपाली समुदायविशेषका कार्यक्रम गरिरहेका हुन्छन्। तामाङ समाज अमेरिकाले गत साता सोनाम ल्होसार २८५५ मनायो। गुरुङ, तामाङ, मगर जातिले पनि आफ्ना चाडपर्वमा कार्यक्रम गर्छन्। ‘हामी नेपाली हाम्रो संस्कृति संरक्षण गर्न सक्षम छौं’, आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष लुइसाङ वाइबा भन्छन्, ‘हामीपछिको पुस्ताले यसलाई निरन्तरता देओस् भन्ने चाहन्छौं।’ नयाँ पुस्तालाई नेपाल, नेपालीको धर्म, संस्कृति, संस्कार र इतिहास सिकाउन हरेक परिवारले ध्यान दिनुपर्ने उनी बताउँछन्।

बालबच्चा भने नेपाली भाषा कम बोल्ने गरेको पाइन्छ। बाबुआमासँग पनि उनीहरू अंग्रेजीमा बोल्छन्। ‘बच्चाहरू दिनभर विद्यालय र विश्वविद्यालयमा व्यस्त हुने भएकाले उनीहरू घरमा नेपालीमा बोल्न चाहँदैनन्’, नर्थ क्यारोलिना बस्दै आएका राजु भण्डारी भन्छन्, ‘तर, हामीले उनीहरूसँग नेपालीमा बोल्नुपर्छ।’

उनका अनुसार नेपालीमै बोल्ने बानी बसाल्नुपर्छ। चाडपर्वमा आफ्नो धर्म, संस्कारअनुसार गरिने क्रियाकलापमा सहभागी गराउनुको विकल्प नरहेको उनको बुझाइ छ। उनले सन्ततिलाई हरेक क्रियाकलाप सिकाउँछन्। तर, धेरै आमाबाबु नेपाली धर्म, संस्कृतिलाई नयाँ पुस्ताले भुल्ने हुन् कि भन्ने चिन्तामा छन्।

भाषा, संस्कृति जगेर्नाका कार्यक्रम नहुने होइनन्। तर, दिनभरको संगत र कार्यव्यस्तताले नयाँ पुस्ता नेपाली भाषाप्रति आकर्षित छैनन्। न्युयोर्कमा हरेक वर्ष नेपाल डे परेड कार्यक्रम हुन्छ। हरेक राज्यमा बसोबास गर्ने नेपाली नेपालको राष्ट्रिय झन्डा लिएर सहभागी हुन्छन्।

‘यस्ता कार्यक्रमले हामी नेपाली हौं भन्ने भाव झल्काउन, हाम्रो देश नेपालको सान विश्व समुदायलाई देखाउन र भावी पुस्तालाई आफ्नो राष्ट्रियता सिकाउन मद्दत गरेको छ’, नेपाल डे परेड २०१८ कार्यक्रम संयोजक रामहरि अधिकारी भन्छन्। उनी एनआरएनए अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष हुन्। पर्वतमा जन्मिएका ह्यारी भण्डारी हालै अमेरिकी संसद् भवन छिरेका छन्। आफ्नो कार्यालयमा नेपालको झन्डा, सगरमाथा र विभिन्न कला, संस्कृति झल्किने तस्बिर उनले राखेका छन्।

  • अनिल अधिकारी