अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेजले समस्यामा नेपाली विद्यार्थी

गलत सूचनाका साथ मार्के्टिंग गरेको लगायत कैयौं बुँदामा प्रचलित नियम मिचेको भन्दै अष्ट्रेलियाको एआईबीटी कलेजको सम्बन्धन खारेज  गरिएको छ ।शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटी एस्क्वाले सिड्नी र ब्रिसबेनमा सञ्चालित अष्ट्रेलिया ईन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी एआईबीटी कलेजको सम्बन्धन खारेज भएको हो । यो कलेजमा करिब १२ सय नेपाली विद्याथी अध्यनरत छन्।

कलेजले भने  यसका विरुद्ध अपील गर्ने जनाएको छ । यसरी दर्ता खारेज गरेपछि २८ दिनभित्र अपिल गर्नपाउने कानूनी प्रावधान रहन्छ । ब्राइटन प्यासिफिक प्रालिका नाममा दर्ता भएको र एआईबीटीका नामले सञ्चालन भएको  कलेजलाई आगामी  २६ मार्च २०१९ देखि लागू हुनेगरी दर्ता खारेज गरिएको हो ।

कलेजले डिप्लोमा अफ नर्सिंगको पढाई गर्दै आएको थियो जसमा अष्ट्रेलियन नर्सिंग एण्ड मिडवाईफेरी एक्रिडेसन काउन्सिल एनम्याकको सम्बन्धन थिएन । यस्तो सम्बन्धन नभएको कलेजको पढाईलाई अष्ट्रेलियन स्वास्थ्य संस्थाहरुले मान्यता दिँदैनन् ।