​तमु ल्होछार : राम्रो लाउने, मीठो खाने पर्व

बौद्धधर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व तमु ल्होछार आज काठमाडौंँ उपत्यकालगायत गुरुङ बसोबास भएका देशका विभिन्न भागमा मनाइँदैछ।

नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन्। विदेशमा रहेका सो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन्।

Tamu_Communityगुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र ती वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ।

राम्रो लगाउने र मीठो खाने दिनका रूपमा प्रचलित सांस्कृतिक पर्व नेपालका साथै चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायतमा मनाइन्छ।

सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ।

काठमाडौँ उपत्यकामा रहेका तमुले राजधानीको टुँडिखेलमा समारोहको आयोजना गरी ल्होछार मनाउने गरेका छन्। रासस