एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

ratan jhaआगामी असोजमा हुने गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को काठमाडौं विश्व सम्मेलनले नयाँ कमिटीको निर्वाचन गर्दैछ । वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि इच्छा राखेको उनी निकटर्थीहरूले बताएका छन् । उनको संभावित प्रतिस्पर्धीका रूपमा देखिएका उपाध्यक्ष भवन भट्टले घलेलाइ मैदान छोडीदिएको घोषणा गरेपछि चुनावी हल्ला सुस्ताएको थियो । तर, यसैबीच संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने तयारी गरेर एन. आर. एन. संघको चुनावी माहोल तताएका छन् ।

गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को आगामी विश्व सम्मेलनमा अमेरिकाका ब्यवसायी तथा संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने भएको नेपाल ब्रिटेन डट कमले उल्लेख गरेको छ । झा  संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गर्छन् ।

एक औपचारिक समारोह मार्फत संघका पूर्व महासचिव झाले आगामी साता संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

झाले विश्वका ७१ मुलुकमा फैलिएका सदस्यहरुलाई समेटेर गैर आवासीय नेपालीलाई एकत्रित गर्ने आफ्नो योजना रहेको सुनाएका छन् । उनले नेपालमा पुँजी लगानी मात्र नभइ समुदायलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउन प्रदान गरिने ज्ञान, सिप र समय लगानीमा पनि गैर आवासीय नेपालीको ध्यान पुग्नु पर्ने र आफू त्यसका लागि तयार रहेको बताए ।

नेपालको सर्लाहीमा जन्मिएर संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गरिरहेका झा संघ स्थापना देखिनै गैर आवासिय नेपाली अभियानमा सक्रियतासाथ् सहभागी हुँदै आएका छन् । उनको उम्मेदवारीलाई एनआरएन अमेरिका र एनआरएन अभियानका संस्थापक अगुवाहरुको समेत समर्थन रहेको स्रोतले पुष्टि गरेको छ । एनआरएन अमेरिका २०१४ को निर्वाचनसंगै संघको सबै भन्दा धेरै ICC सदस्य रहेको राष्ट्रिय समन्वय परिषदको रुपमा स्थापित भएको छ ।