एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा आएको माओवादी, राजावादी र जनजातिवादीको गुटीय समझदारी ।

रमाइलो त के छ भने प्रवासी नेपाली मंचले यसअघि माओवादीसँग यस्तै समझदारी गरेको थियो । तर त्यसको कार्यान्वयन नगरी अहिले जनसंपर्क समितिको सिता सापकोटा पक्षसँग टाँसिए जस्तो देखिएको छ । तर समझदारीहरूलाई पटकपटक तोड्ने रेकर्ड राखेकाहरूले यो समझदारीलाई टिकाउलान् भन्ने कुरामा भने शंका छ । जेभए पनि यो गुटीय समझदारीले एनआरएन सँघ बेल्जियममा चियाको कपमा आँधी ल्याइदिएको छ र गफीहरूलाई मसला जुटाई दिएको छ ।

यी दुई (प्रवासी नेपाली मंच र जनसम्पर्क संस्था ) ले जारी गरेको विज्ञप्तिमा आगामी निर्वाचनमा सर्वसहमतिको प्रयास गर्ने सहमति भएको जनाइए पनि भित्री रूपमा एक आइसीसी सदस्य, एक उपाध्यक्ष र महासचिव एमालेको भागमा र अध्यक्ष (सन्तोष जोशी प्रस्तावित), एक उपाध्यक्ष र एक आइसीसी सदस्य कांग्रेसको निम्ति भागबन्डा गरिएको बताइएको छ । तर सो सहमतिप्रति  एनआरएन सँघ बेल्जियमका हालका अध्यक्ष तथा जनसंपर्क समितिका पूर्वअध्यक्ष गंगाधर गौतमसहित उनको गुट सहमत नभएको बताइन्छ ।

यसरी प्रष्ट देखिन्छ की सो सहमतिको नाममा भएको भागबन्डा गंगाधरको काँग्रेसी गुट र माओवादीहरूलाई पाखा लगाउने तानाबाना हो । त्यसैको प्रतिरोधमा माओवादीले लोक दाहालको पक्षमा साना गुटहरूको अलायन्स खडा गरेको छ । राजावादी र जनजातिवादीसमेत मिस्सिएको यो रंगीचंगी अलायन्समा जनसंपर्क र प्रवासी नेपाली मंचका असन्तुष्टहरू पनि छन् ।

यसअघि, प्रवासी नेपाली मंचले माओवादीसँग समझदारी गर्दै जसको उमेदवार दरो देखिन्छ उसलाई अध्यक्ष र बाँकी पदमा भागबन्डा गर्ने सहमति गरेका थिए । तर माओवादीका प्रस्तावित उमेदवार लोक दाहालभन्दा एमालेकी प्रस्तावित उमेदवार सरू चापागाईं कमजोर देखिन थालेपछि एमालेवालाहरूले नयाँ खेल खेलेका हुन् । एनआरएन सँघ बेल्जियममा संस्थागत हिसाबले जनसंपर्क समितिको पकड बलियो छ र यसको आधिकारिक समूहले सन्तोष जोशीलाई अगाडि सारेको छ । तर, मातृसंस्थाको रोगले सताएको यो बालसंस्थामा पटक्कै नमिल्ने दुई गुट छन् । २ वर्षअघि यी दुई गुट विभाजित भएर चुनाव लडेका थिए र यसपाली पनि मिल्ने छाँट देखिंदैन । २ वर्षअघि पनि प्रवासी नेपाली मंच जनसम्पर्कको एक पक्षसँग मिलेको थियो तर पछि एकले अर्कालाई धोखाधडी भएको भनेका थिए ।