एनआरएनले राजनीतिक अधिकार बाहेकको विशेष नागरिकता पाउने

गैर आवासीय नेपाली (एनआरएन), जसले अर्को देशको नागरिकता अँगिकार गरेका छन्, राजनीतिक अधिकार बाहेकको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको विशेष नागरिकता पाउने सहमति संविधान सभाका प्रमुख दलहरूबीच बनेको बताइएको छ ।

nepalgov-nishana-chhapआज बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले नागरिकताका विषयमा दलहरुबीच भएको विवादको टुङ्गो लगाउने क्रममा यस्तो सहमति गरेको हो।

नेपालको संविधानमा यसअघि वंशज, अंगीकृत र मानार्थ गरी तीन किसिमका नागरिकतामात्र रहेकोमा अब ‘विशेष नागरिकता’ पनि थपिने भएको हो। जुन एन.आर.एन. हरूको मागलाइ सम्बोधन गर्ने प्रयासस्वरूप आएको देखिन्छ ।

विशेष नागरिकता कार्ड वाहकलाई राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने वा राजनीतिक लाभको पदमा बस्ने आदि जस्ता अधिकार हुने छैनन्। अर्थात राजनीतिक नेतृत्व चयन वा राजनीतिक पद धारण गर्न पाइने छैन ।

हङकङ र ब्रिटिश लाहुरेले पनि विशेष नागरिकता नै पाउने छन्।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा बनेको यो सहमति नै संविधान सभामा प्रस्तुत हुने हो, जसमा केही संशोधन पनि हुनसक्छ ।