युरोपेली सङ्घदेखि हलिउड नायीका लुम्लेसम्म गढीमाईको पशुबलि विरूद्ध

बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध श्री गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
gadimaiविश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हुँदैछ। गढीमाईमा चढाइने पशुबलिबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बलि रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका हुन्।
यसअघि, बेलायती चर्चित हलिउड अभिनेत्री जोअन्ना लुम्लेले बाराको गढीमाई मेलामा दिइने लाखौं लाख पशुपन्छीको बली रोक्न नेपाल सरकारलाई आग्रह गरेकी थिइन् । उनले लण्डनस्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउदै पशुवलीमाथि प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको ब्रिटीश मिडियाले जनाएका छन् । लुम्ले बेलायती फौजमा कार्यरत गोर्खा सैनिकलाई समान अधिकार दिलाउने अभियानको समेत नेतृत्व गरिरहेकी छन् ।
लुम्लेले गढीमाईमा दिइने पशुवली विरुद्ध विश्वव्यापी आवाज उठाउने अभियानसमेत सञ्चालन गरेकी छन् । लुम्लेको नेतृत्वमा पशुवलीविरुद्ध प्लेकार्डसहित लण्डन दूतावास अगाडि र्यालीसमेत प्रदर्शन गरिएको थियो । र्यालीलाई सम्बोधन गर्दै लुम्लेले भनिन्–यो अमानवीय घटना हिन्दू धर्मको मूलधारभित्र पर्दैन ।
गोर्खा सैनिकको पक्षमा निरन्तर लड्दै आएकी यी चचिर्त अभिनेत्रीले भनिन्–म नेपाललाई माया गर्छु, नेपाली जनता र नेपाली भूमी दुबैलाई ।विश्वमै सबैभन्दा धेरै पशु बली दिइने गढीमाई मेलामा यस वर्ष पशु हत्या रोक्न यसअघिदेखि नै अन्तर्राष्टीय इन्टरनेट लबिङ समेत शुरु भएको थियो । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट शुरु भएको पशु बली विरुद्धको हस्ताक्षर अभियानमा हजारौं नेपालीहरुले पनि साथ दिएका छन् । पामेला क्रुजको नामबाट खोलिएको हस्ताक्षर अभियान विश्वभर चलाइएको छ । यो हस्ताक्षर नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई बुझाइने उल्लेख छ ।
बाराको बरियारपुर गाविसस्थित प्रसिद्ध गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्छ । मेलाका अवसरमा राँगा, बोका, सुँगुर, कुखुरालगायत विभिन्न पशु पन्छीलाई लाखौंको संख्यामा वली दिइन्छ ।
हरेक वर्ष मंसिर शुक्लपक्षसँगै यो मेला लाग्छ । गढीमाईको मेलाम दिइने पशु/पन्छी बली विश्वमै सबैभन्दा ठूलो सँख्याको मानिन्छ । यसअघि नेपालभित्रै पनि यो सामुहिक पशुवली विरुद्ध आवाज उठ्दै आएका छन् ।