र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

– डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड

गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई सेवा गर्न चाहने सहयोगी हात र समझदार आत्माहरुको आकर्षण एनआरएन सँघमा झन-झन बढीरहेको देखिन्छ र नेतृत्वको लागि प्रतिस्पर्धा तिब्र बनेको छ । यही उत्प्रेरणा र उत्साहबीच दशौं एनआरएनसँघ युरोपेली क्षेत्रिय बैठक र आठौं महिला भेलाको तयारी जर्मनीको सुन्दर शहर फ्र्याङफर्टमा जोडतोडले भईरहेको छ । एनआरएन सँघको राष्ट्रिय समन्वय परिषद जर्मनीको आतिथ्यमा यहि जुलाईको २९ देखि ३० सम्म फ्र्याङफर्टमा आयोजना हुने उक्त्त कार्यक्रममा सदा झैं एनआरएन सँघका अभियन्ताहरु, युरोप लागायत अन्य महादेशका राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । तर, यसपालीको यो युरोपेली क्षेत्रिय बैठक सँघको कुनै एक नियमित कार्यक्रमको रुपमा मात्र समापन हुने छैन । यसले गैर-आवासीय नेपाली संघको भावि नेतृत्व र कार्यदिशा निर्धारणमा गहिरो प्रभाव पार्ने देखिन्छ ।

हरेक दुई वर्षमा आयोजना हुने सँघको विश्व सम्मेलन यसै वर्ष काठमाण्डौंमा आयोजना हुँदै छ, जसले सँघको अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को भावि नेतृत्व छनौट गर्नेछ । यस परिप्रेक्ष्यमा विश्व सम्मेलनको पूर्वसन्ध्यामा फ्र्याङफर्टमा आयोजित युरोपेली क्षेत्रिय बैठक र महिला भेलाले एक विशेष अर्थ राख्दछ । अवश्य पनि, बैठकमा सँघका नियमित एजेन्डाहरुमा छलफल हुने नै छन् र युरोप क्षेत्रका अवसर र चुनौतिहरुको विश्लेषण गर्दै भावि कार्यक्रमहरु पनि तय गरिने नै छन् । तर, प्रचलित प्रथा र चलनभन्दामाथि उठेर यो बैठकलाई सँघको ईतिहासको पृष्ठभूमिमा उभ्याएर यसका विविध पाटाहरुको सुक्ष्म विश्लेषण गर्ने हो भने केही ज्यादै रोचक पक्षहरु प्रकाशमा आउने छन् ।

हालसम्म एनआरएन सँघ आईसीसीमा चार जना व्यक्तित्वहरुले अध्यक्षका हैसियतमा नेतृत्वकारी भूमिका खेलेका छन् । सन २००३ देखि २००९ सम्म (दुई कार्यकाल) डा. उपेन्द्र महतो, २००९ देखि २०११ सम्म देवमान हिराचन, २०११ देखि २०१३ सम्म जीवा लामिछाने र सन २०१३ देखि २०१७ सम्म (दुई कार्यकाल) शेष घले अध्यक्ष बने । तिमध्ये घलेमात्र दुवैपटक चुनावी प्रकृयाका माध्यमले अध्यक्ष बनेका हुन् । डा. महतो संस्थापक अध्यक्ष थिए भने हिराचन र लामिछाने सहमतिय प्रकृयाबाट निर्विरोध अध्यक्ष बनेका थिए । एनआरएन सँघको विगतलाई विश्लेषण गर्दा, अध्यक्षको निर्वाचनमा युरोप क्षेत्र र युरोपेली बैठक वा सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

२०१३-२०१५ को कार्यकालका निम्ति आफ्नो आधिकारीक उमेदवारी घोषणा गर्नुअघि अध्यक्षका प्रत्यासीहरु शेष घले र तेन्जि शेर्पा त्यसै साल स्विटजरल्याण्डको जुरीखमा आयोजित सातौं युरोपेली क्षेत्रिय बैठकमा चुनावी माहौल आफ्नो पक्षमा बनाउन कस्सिएर लागेका थिए । कार्यक्रमका दौरानमा भएका प्रत्यक्ष-अप्रत्यक्ष बहुपक्षिय भेटघाट, सरसल्लाह, कानेखुशी, समर्थन र विरोधहरुले उमेदवारी घोषणाको खाका तयार पा‍रेको तथ्य छर्लङ्ग छ ।

त्यसैगरी सन २०११ मा जीवा लामिछाने अध्यक्षका आकांक्षी थिए । त्यसै वर्षको विश्व सम्मेलनको केही महिनाअघि युरोपेली क्षेत्रिय सम्मेलन लामिछानेको गृहनगर मस्कोमा सम्पन्न भएको थियो । उक्त्त सम्मेलनले लामिछानेको उमेदवारीलाई मूर्तरुप दिन ठूलो भूमिका खेल्यो । फलस्वरूप मस्को क्षेत्रिय सम्मेलनपश्चात् सम्पन्न विश्व सम्मेलनले लामिछानेलाई निर्विरोध सँघको अध्यक्षमा चुन्यो ।

एनआरएन सँघ आईसीसीको २०१७-२०१९ कार्यकालको नेतृत्व हात पार्न विगत एक वर्षदेखि नै चर्चा-परिचर्चा र दौडधुप शुरू भैसकेको छ । यसका निम्ति वर्तमान उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तले उमेदवारी घोषणा गरीसकेका छन् । लामो समयदेखि एनआरएन सँघमा आबद्ध यी दुबै सबल र सक्षम उमेदवार हुन् । भट्टको कर्मथलो जापान हो भने पन्तको जर्मनी । दुबै सफल व्यवसायी हुन् । हालसम्म यी दुईले मात्र अध्यक्ष पदमा आ-आफ्नो दावी प्रस्तुत गरे पनि तेस्रो व्यक्तिको संभावनालाई नकार्न सकिंदैन र यसका निम्ति दशौं युरोपेली बैठक कुर्नुपर्ने देखिन्छ । आगामी विश्व सम्मेलनपूर्व आयोजना हुने प्रमुख कार्यक्रम नै यही युरोपेली बैठक भएकोले कुनै पनि नवआकांक्षीले यही बैठकका क्रममा आफ्नो ईरादा खुलाउनै पर्ने हुन्छ । अन्यथा, यस पटकका लागि प्रभावकारी चुनावी अभियान असम्भवप्राय: देखिन्छ । अझै पनि एक-दुई व्यक्ति “पर्ख र हेर” को मुडमा भएको कोठेचर्चा गरिन्छ । नेतृत्वको इच्छा भएका तर उमेदवारी निश्चय गर्न नसकेकाहरूलाई फ्र्याङफर्ट सम्मेलन अन्तिम मौका हो । यद्यपि दुई हेबिवेट उमेदवार मैदानमा आइसकेको अवस्थामा सदाझैं यस पटक पनि तेस्रो उमेदवारको सम्भावना ज्यादै न्युन देखिन्छ । सँघको नेतृत्व एकै दिन, एकै रात र एकै छाकमा टुंगो लाग्ने कुरा त होइन तर, एउटा कुरा निश्चित रूपमा के भन्न सकिन्छ भने यही युरोपेली बैठकबाटै भट्ट र पन्तको चुनावी अनुकूलता प्रष्टिने छ ।

अन्त्यमा, जुलाई २९ र ३० मा जर्मनीको फ्र्याङफर्ट शहरमा आयोजना हुने एनआरएन सँघको दशौं युरोपेली क्षेत्रिय बैठक र आठौं महिला भेलालाई सबै मिली भब्य रुपमा सफल बनाऔं । जसले गर्दा प्रवासी नेपालीबीच एकता, सहकार्य र समन्वयको अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा अझै बढी काम गर्न सकियोस् । फ्र्याङफर्ट बैठकले जोकसैको उमेदवारी सबल बनाओस् वा दुर्बल, संघको प्रजातान्त्रिक मूल्य र मान्यता कार्यान्वित होस् । सबल र सक्षम नेतृत्व गैर-आवासीय नेपालीहरुले प्राप्त गरुन् । चुनावी अभियानका लागि लगानी वा खर्च हुने अर्थ मात्र होईन, उमेदवारका गुण र क्षमता प्रमुख बन्न सकोस् । विजयी उमेदवारले पराजित उमेदवारलाई आफ्नो संस्थागत टिममा संलग्न गराउँदै नेपाल, नेपाली, गैर-आवासीय नेपाली र सँघको हितमा कार्य गर्न सक्ने वातावरण बनाउन यस पटकको क्षेत्रिय बैठकले ठोस भूमिका खेल्न सकोस् । अग्रिम शुभकामना ।

(पेशाले अंकोलोजिस्ट डा. श्रेष्ठ एनआरएन सँघ स्विटजरल्याण्डका आर्इसीसी प्रतिनिधि हुन् । )