दूतावास नबेच्न सर्वोच्चमा निवेदन र लण्डनमा ‘बचाउ अभियान’

embassy_of_nepal_in_london

लण्डनस्थित मुख्य सहरमा कलाकौशलले सज्जिएको नेपाली दूतावासको भवन बिक्री गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न/नगराउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ।
अधिवक्ता तुलसी सिंखडाले दायर गर्नुभएको निवेदनमा बेलायती बजारमा बढी मूल्यमा बिक्री हुनसक्ने सो भवनलाई मूल्यमा तुलना गरेर बिक्री गरेमा नेपाली अस्मितामा आँच आउने भन्दै बिक्री लगायतका सम्पूर्ण कार्य नगर्न/नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
अन्तरिम चुनाबी मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावासलाई विपक्षी बनाई दायर गरिएको सो  निवेदनमा पुरातात्विक महत्व रहेको उक्त भवनको आवश्यक जीर्णोद्वारका लागि अबिलम्ब परमादेशको आदेश जारी गर्न पनि माग गरिएको छ ।

लण्डनस्थित नेपाली दूतावासको भवन बिक्री गर्ने क्रममा आर्थिक अनियमितता प्रमुख कारण रहेको  समाचारहरू संचार माध्यमहरूमा आइरहेका छन् ।

उता लण्डनमा एनआरएन यूकेको पाँचौ कार्य समितिको १२औ बिशेष बैठक नेपाली दुताबास बिक्री प्रकरणमा केन्द्रित भएको छ। एनआरएन यूकेका अध्यक्ष कूल आचार्यको अध्यक्षतामा बसेको वैठकमा बिशेष रुपमा छलफलको लागि राखिएको प्रस्ताव “नेपाली दुताबास बिक्री प्रकरण” मै केन्द्रित रहेको थियो।

बैठकले दुतावास बिक्री नेपाल र नेपालीको भावना विपरित रहेको ठहर गर्दै कुनै पनि हालतमा बेच्न नदिने निर्णय गरेको छ। दुतावास बिक्री कार्यलाई रोक्नको लागि एनआरएन यूकेले एनआरएन यूकेका भू पू अध्यक्ष एवम् वरिष्ठ समाजसेवी मेजर रिटायर्ड डमर घले एमबीइको संयोजकत्वमा “युके नेपाली दुतावास बचाउ अभियान समिति” गठन गरेको छ। उक्त समितिमा बेलायत स्थित बिभिन्न जातिय, राजनैतिक, भुपु गोर्खाहरू सम्बद संस्थाहरु, विविध पेशा विशेष सम्बद संस्थाहरू लगायतका प्रतिनिधिहरू, पत्रकार, कानुनविद, बुद्धीजिवी एवम् हरेक क्षेत्रको सहभागिता रहने निर्णय समेत बैठकले गरेको छ।

बैठकमा नेपाली दुतावास बिक्री प्रकरणलाई जनसमक्ष ल्याउन अहोरात्र खट्ने नमस्ते युरोपका प्रबन्धक राजन भट्टलाई अध्यक्ष कूल आचार्यद्वारा खादा ओढाइ सम्मान गरिएको थियो।