डायस्पोरामा अभिभावकत्व

parentingबेल्जियमको नागरिक बनेर बसेका मेरा एक मित्रले हालै मसँग बेस्करी चित्त दुःखाए । उनको चित्त दुःखाई थियो- उनकी हुर्कँदी छोरी ।

उनले भने- ‘यु. के. जाने की सोँच्दैछु ।‘

‘यु. के. गएर समस्या समाधान होला ?’, मैले सोधेँ ।

‘छोरीले बाटो समात्छे की भनेर’, उनले प्रष्ट पारे ।

उनको वर्णनले मलाई पीडा भयो । करिब ५ वर्ष अघि उनले आफ्नो छोरीको बारेमा थुप्रै कुरा गरेका थिए । त्यो सपना र अहिलेको वास्तविकता । जीवन चाहे जस्तो हुन्न ।

मैले मित्रलाई भनें- ‘गल्ती छोरीको होइन । तँपाईं कै हो ।‘  छोरीलाई युरोप ल्याएपछि आफैं के के न हुन्छ भन्ने सोचेका थिए मित्रले । उनले कुशल अभिभावकत्व निर्वाह गर्न सकेनन् । छोरीले अमिल्दो बाटो समाती ।

कुरा के भएछ भने महिनावारी भर्खर शुरू भएकी छोरीले ‘ब्वाइ फ्रेन्ड’ बनाइछ । त्यसमा पनि किशोर केटा रहेछ, कुलतमा परीसकेको ।

जति भन्दा पनि छोरी मान्दिन । अब यु. के. बसाइँ सरे त्यो केटासँगको सम्बन्ध छुटेर छोरीको ध्यान पढाइतिर जान्थ्यो की भन्ने झिनो आशा ती मित्रको कथनमा प्रष्टिन्थ्यो । तर बेल्जियममा हुँदाखाँदाको काम र व्यवस्थित बसोबास छोडेर यु. के. मा गएर के गर्ने उनसँग कुनै प्रष्ट तस्वीर थिएन ।

ती मित्रको समस्या नितान्त नौलो भने होइन । पश्चिमा मुलुकहरूमा किशोरकिशोरी छोराछोरी हुर्काइरहेका थ्रुप्रै स्वदेशी बन्धुहरूको एक प्रतिनिधि समस्या मात्र हो ।

विदेशीएका हामी नेपालीहरू सामान्य रूपमा भन्दा पैसाको पछाडि दौडिरहेका हुन्छौं । पश्चिमी पूँजीवादी दुनियाँमा आम मानिसको जीवन उपभोक्तावादी मनोविज्ञानले लखेटीरहेको हुन्छ । अनि हामी त्यही हुलमा मिसिन्छौं र पैसाको पछाडि दौडेर बित्छ।

गोराहरूको मुख्य सोचाइ हुन्छ, ब्यक्तिवादी । तर हाम्रो मुख्य ध्यान हुन्छ, सामाजिकता र परिवार मोह । यी दुई धारका बीच निक्कै ठूलो खाडल र द्वन्द्व हुन्छ भन्ने बुझ्न अप्ठेरो छैन ।
नेपाली मन भएका तर डायस्पोरामा तन बिताइरहेकाहरूको सोच र जीवन निकै टकरावमा बितीरहेको हुन्छ । अनि यो टकरावमा कसरी सम्हालिने र व्यवहार गर्ने भन्ने कुरामा प्रशिक्षित नभएका नवआगन्तुक पुस्ता समस्यामा पर्छन् । ती अभिभावकहरूले कुशल अभिभावकत्व निर्वाह गर्न नसक्दा एकखाले द्वन्द्वमा पर्छन् डायस्पोराका बच्चाहरू।

यहीं पश्चिम युरोपको कुरो गर्ने हो भने, स्कूलमा यहाँ कै भाषा, मान्यता, संस्कार र संस्कृति सिकाइन्छ भने घरमा गएपछि  ठेट नेपाली र अर्कै खालको पूर्वीय सभ्यता ।

स्कूल, साथी र छिमेकमा देखेको वास्तविकता र घरमा बाबुआमाको कुरा दुइ भिन्न संसार जस्तो हुन्छ । यी बाबुआमाले डायस्पोराको जीवनका बारेमा धेरै भ्रम पालेका हुन्छन्, धेरै यथार्थ नजानेका हुन्छन् । नवीन दुनियामा कसरी छोराछोरी हुर्काउने पत्तो हुँदैन ।

यही अँध्यारो र दोधारमा कतिपय डायस्पोराका बाबुआमा बच्चालाई सर्लक्क हजुरआमा, हजुरबाको काखमा नेपाल छोडेर पैसा कमाउन लाग्छन् । हजुरआमा, हजुरबाको काखमा बच्चाले नेपाली सँस्कृति त सिक्ला तर अभिभावकसँगको बिछोडले उसको मायाममता कता अल्झिएला ? वास्तविक बाबु­आमा फोन र स्काइपमा त चिनिएला तर मनको मायाले नचिन्ने डर पनि उत्तिकै हुन्छ। लियो टोल्सटोयले भनेका छन् – सबै कुरा बच्चाको हुर्कने उमेर मै भर पर्छ ।

तर आफैसँग पाले पनि आफू बसेको समाजअनुकूलको शिक्षादीक्षा दिन सकिएन भने पनि असफल अभिभावक बनेको दिन देख्नुपर्नेछ । त्यसैले, युरोप, अमेरिका वा अष्ट्रेलियामा छोराछोरी हुर्काउन पाइयो भन्दैमा मख्ख पर्नु बेकार छ । पैसाको पछाडि दौडिएर कमाए पनि छोराछोरीले असल मार्ग लिन सकेनन् भने सबै निरर्थक बन्न जान्छ । सबैभन्दा महत्वपूर्ण कुरा, छोराछोरी कसरी हुर्काउने भन्ने बारेमा स्वयंले ज्ञान हासिल गर्नु जरूरी छ । बच्चाबच्चीको पहिलो पाठशाला घर नै हो । घरको दीक्षा र बाहिरी शिक्षाको बीचमा द्वन्द भएमा केटाकेटीलाई गारो पर्छ । त्यसैले अभिभावकले आफू बसेको वातावरण बुझेर तादात्म्यता राखी शिक्षादीक्षा दिनुपर्छ ।

धेरै बोलेरभन्दा आफै उदाहरणिय रूपमा प्रस्तुत हुनुपर्छ । एक विद्वानले भनेका छन्- ‘बच्चाहरू आफ्ना अभिभावकको कुरा त्यति सुन्दैनन् तर धेरै हदसम्म सिको गर्छन् ।’ छोराछोरीले असल मार्ग समात्न सकेनन् भने त्यसको दोष धेरै हदसम्म अभिभावक कै हो भन्ने बुझ्नु पर्छ ।

– पंचम अधिकारी