युरोपको भिसामा कडाइ

युरोपमा बढ्दै गएको बेरोजगारीको समस्यालाई सम्बोधन गर्न युरोपियन युनियनमा आबद्ध मुलुकहरूले विभिन्न उपाय खोजी गरिरहेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा यसै हप्ता बसेको युरोपेली युनियनको बैठकमा सहभागी मन्त्रीहरूले बढ्दो बेरोजगारीमा कमी ल्याउने विभिन्न उपायबारे छलफल गरेका थिए ।
visaसो बैठकमा उपस्थित नेताले युरो क्षेत्रका युवामा बढ्दै गएको बेरोजगारी समस्याको मुकाबिला गर्न नयाँ कदम चाल्ने निर्णय गरेका छन् । सो निर्णयअनुसार युरोपेली युनियनमा रोजगार बढाउन दुई वर्षमा १० अर्ब डलर खर्च गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ । युरोपेली युनियनमा रोजगारीको खोजीमा अहिले पनि निकै ठूलो समुदाय १८ वर्षदेखि २५ वर्ष उमेर समूहका रहेका छन् । कुल युवाको करिब एकचौथाइ जनसंख्या बेरोजगार रहेको तथ्यांक केही सयम अगाडि सार्वजनिक भएको थियो ।
उक्त बैठकमा बेरोगार युवालाई रोजगार दिन प्रशिक्षणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको थियो । युरोपमा प्रत्येक चारमध्ये एक युवा बेरोजगार छन् । उता, आलोचकहरूले सो कदमलाई अपर्याप्त भनेका छन् । उनीहरूले जबसम्म युरोपेली युनियनका मुलुकहरूको आर्थिक स्थिति सुध्रिँदैन तबसम्म यस्ता प्रयासबाट खासै फरक नपर्ने बताएका छन् । सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव युरोजोनमा परेको बताइएको छ । करिब तीन वर्षदेखि युरोजोन चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको छ ।
बढ्दो बेरोजगारीका कारण विकासोन्मुख देशका युवालाई भिसामा पनि प्रभाव पर्ने विश्लेषकले बताएका छन् । भिसामा कडाइ गरी त्यही क्षेत्रका युवालाई कामका लागि प्रोत्साहन गर्ने इयुका नेताहरूको निष्कर्षले युरोपेली मुलुकमा काम वा पढाइका लागि जाने युवाको संख्यामा कमी आउनेछ ।