ल्होसार एक, तिथिमिति किन अनेक ?

नेपाल विश्वमा संस्कृतिको अथाह भण्डार रहेको देश हो । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा संवत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँअर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामाभोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय पर्व हो यो । नेपालका पहाडी–हिमाली धेरै समुदायको आआफ्नो जातीय परिचयको पर्व भए पनि केही वर्षअगाडिदेखि भने नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा सम्मान दिई विविध कार्यक्रमसाथ सम्पन्न हुँदै आज विश्वव्यापी भइरहेको तीन समुदाय गुरुङ, तामाङ र शेर्पाका अग्रणी स्थानमा रहेका परम्परागत अस्तित्वका पुरातन पर्व हुन् क्रमशः तोला, सोनाम र ग्याल्पो ल्होसार ।

बाह्र विभिन्न जीवजन्तु–पक्षीको नामबाट १२ वर्षका प्रत्येक वर्षलाई सम्बोधन गरिन्छ । १२ वर्षमा त्यही नाम दोहोरिइरहने अर्थात् १२ वर्ष बितेपछि फेरि पुरानै वर्षचक्र सुरु हुने प्रक्रियालाई चक्रीय प्रणाली भनिन्छ । जाति–भाषाका कारण नाम फरक परे पनि वर्षचक्रका जीवजन्तुको संख्या भने १२ वटा नै रहेको हुन्छ । मुसा वर्षचक्र सुरुको जीववर्ष हो भने सुँगुर (बँदेल) लाई अन्तिम वर्ष मानिन्छ । अहिले (०७४-७५) कुकुर वर्षमा हि“डिरहेको छ ।

नेपालका विविध जातिले होस् वा चीन–तिब्बत, मंगोलिया, कोरिया, भियतनाम, बर्मा, लाओस, भुटान, दार्जिलिङ, सिक्किम आदि देश–प्रदेशमा ठूलो उत्सवका रूपमा ल्होसारलाई विविध नामबाट आत्मसात् गरिन्छ । विविध ल्होसारका विधि–विधान, मूल सिद्धान्त, अभिप्राय, उद्देश्य र उपादेयता आदिमा खासै विभिन्नता नभएर यसको साररूप प्रायः एउटै–एउटै रहेको देखिन्छ । १२ वर्षका प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्ने १२ वर्षचक्रका जीवजन्तुका नाम समुदायको परम्परागत नामकरणले गर्दा एक, दुई फरक परे पनि प्रायः एउटै छन् र १२ वटा (१. मुसा, २. गोरु, ३. बाघ, ४. खरायो÷बिरालो, ५. गरुड-मेघ-ड्रयागन, ६. सर्प, ७. घोडा, ८. भेंडा, ९. बानर, १०. चरा, ११. कुकुर, १२. बंदेल÷सुंगुर) नै जीव रहेका छन् । तोला, सोनाम तथा ग्याल्पोे १२ ल्हो चक्रप्रणाली प्रायः सबै ल्होसारमा पुरानो वर्षलाई बिदा गर्दै अभिनव वर्ष प्रारम्भको बिहानीसँगै मंगलमय वर्षको कामनासाथ कुलपूजा, पितृहरूको सम्झना, घर–मठमन्दिर–गुम्बा आदिमा शान्ति–समृद्धिका लागि पूजा–प्रार्थनालगायत शुभकामना आदानप्रदान, सामाजिक–सांस्कृतिक कार्यक्रम गोष्ठी–अन्तरक्रिया–मेला आदि सम्पन्न गरिन्छ ।

जसले भावनात्मक एकतालाई नै बल पुर्‍याएको अनुभूत हुन्छ । आज नेपालमा राष्ट्रिय मान्यताका अलग–अलग तिथिमिति अर्थात् पुस शुक्ल, माघ शुक्ल र फाल्गुण शुक्ल पक्षमा मानिने क्रमशः तोला, सोनाम र ग्याल्पो ल्होसारलाई एउटै तिथिमितिमा एकताको एक मात्र बृहत् ल्होसारका रूपमा मनाउन प्रयास भइरहेको पाइन्छ । आ–आफ्ना पात्रो (चन्द्र–भोट पात्रो, मञ्जुश्री जन्मदिन आधारित चिनियाँ पात्रो, पञ्चांगले मानेको पात्रो आदि) एवं ज्योतिष दर्शन परम्पराको मतका कारण फरक–फरक तिथिमितिमा फरक–फरक ल्होसार मनाइएको देखिन्छ । आखिर ज्योतिष विद्या सबैका लागि एउटै सर्वमान्य हुनुपर्ने हो । वर्ष र नाम सबैको एउटै हो तर ठ्याक्कै त्यही वर्ष कहिलेदेखि फेरिने ? १ वैशाखदेखि विसंको नयाँ वर्ष प्रारम्भ भए जस्तै कुन तिथिमिति (पुस, माघ, फाल्गुण) को महिनालाई ल्होसारको नयाँ वर्ष टेकेको महिना मान्ने ? यस्तै प्रत्येक ल्होसारको उद्भवसम्बन्धी अनुश्रुति एवं गणना  पनि अलग–अलग नै पाइन्छ । गणनामा पनि एकमत वा एकरूपता आउन सके सम्बद्ध अनुसन्धातालाई सहयोग नै पुग्नेछ । हिमालय महायानी बौद्ध परम्पराको पात्रोलाई टेकेर अघि बढ्दा सर्वमान्य निष्कर्षमा पुग्न सकिने कतिपय विज्ञको जिकिर छ ।

  • डा. गोपाल पोखरेल विवश/नयाँ पत्रिका

(डा. पोखरेलले तामाङ समुदायको अध्ययनमा विद्यावारिधि प्राप्त गरेका हुन्)