अमेरिकाबाट “लजाएका परेलीहरू”

Sarad Nirolaसाहित्यकार शरद निरोलाको नयाँ कविता-सँङ्ग्रह “लजाएका परेलीहरू” भर्खरै प्रकाशित भएको छ |
वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको हस्तलिखित भूमिकासहितको यो सङ्ग्रहमा श्री निरोलाका ४२ वटा कविताहरू छन् | भिन्नभिन्न स्वादका ती कविताहरूमध्ये अमेरिकानिवासी कविले आफ्नो अमेरिका बसाइलाई यसरी लिएका छन् :

किन आयौ अमेरिका ?
के के न पाउँला भनी अमेरिका आयौ
बाबु-बराजुले नखाएको गोता खायौ
आउन त आयौ, सबै कुरा छोडेर
आफ्नो स्वाभिमान वर्चस्व सबै गुमायौ

यस्तै यस्तै विसङ्गति र विकृतिप्रति व्यङ्ग्य भएका कविताहरू खसखस डट कमले प्रकाशमा ल्याएको हो |
३० को दशकमा ‘सुलसुले पस्दा’, ‘विदेशी गुप्तचर’, ‘ब्ल्याक सेप्टेम्बर’ जस्ता चर्चित जासूसी साहित्यबाट आफूलाई सक्रिय पार्नुभएका श्री निरोलाका यसअघि झण्डै एक दर्जन जासूसी उपन्यास प्रकाशित भइसकेका छन् भने कवितासङ्ग्रह चाहिं “लजाएका परेलीहरू” पहिलो हो | प्रकाशक बासु श्रेष्ठको अनुसार जासूसी दुनियाँबाट बेपत्ता भएका शरद निरोलाले अमेरिकी माटोमा कविता लेखेका हुन् |