हेल्प नेपाल नेटवर्क बेल्जियम शाखा गठन

help nepalपरोपकारी कार्यका लागी मासिक सहयोग संकलन गर्ने उद्धेश्यले हेल्प नेपाल नेटवर्क बेल्जियम शाखाको गठन गरिएको छ। गत बर्षको अगस्त महिनादेखि तदर्थ समितिको रुपमा आफ्ना क्रियाकलाप संचालन गर्दै आईरहेको यो शाखाले बेल्जियममा बैधानिकता पाएपछि नेटवर्कको १५ औँ शाखाको रुपमा स्थापित भएको छ| शाखाका अध्यक्ष सहदेव गौतम रहेका छन्| स्थापनापछि गौतमले मासिक सहयोगको लागि थुप्रै नामावली संकलन भैरहेको र छिट्टै नै बैकिङ् प्रणाली अन्तर्गत नेपाल पठाउन शुरु गरिने जानकारी गराए। रु १० करोड राशीको परोपकारी अक्षयकोष स्थापना सहयोगार्थ गत बर्षको नोभेम्बर-डिसेम्वरमा आयोजित तिन हप्ते यूरोप स्तरिय कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समितिले बेल्जियमबाट मात्र २८६ जनाको सहयोगमा २४ लाख ३६ हजार २९८ रुपैया संकलन गरेको थियो। हेल्प नेपाल नेटवर्कले नेपाली-नेपालीको सहयोगमा नेपालका विभिन्न ग्रामिण क्षेत्रका चालिसभन्दा बढी स्कूल, ४० भन्दा बढी पुस्तकालयहरु निर्माण गरिसकेको छ भने आपतकालिन स्थितिहरुमा धेरै पटक राहत सामाग्री प्रदान गरिसकेको छ। बेल्जियमम सहित १५ वटा देशमा शाखा भएको नेटवर्कले आफ्ना परोपकारी गतिबिधीलाई अझ सुदृढ र संस्थागत गर्न गत दश महिना यता नेपाली-नेपालीको सहयोगबाट रु १० करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ। बेल्जियममा संकलित रकम लगायत सो कोषमा अहिले सम्म डेढ करोड रुपैया भन्दा बढी जम्मा भैसकेको छ।
दीपकज्योति पौडेल