ईपरको नाममा बेल्जियमको छोटे राजनीति

MeninGate Ypresप्रथम विश्वयुद्धको प्रारम्भ मै इपरमा १९१४ मा भएको लडाइँ र शहादतको शताब्दि स्मृतिमा बेल्जियन सरकारले भब्य समारोह गर्ने तयारी गर्दैछ । अक्टोवर २८, २०१४ मा हुने सो स्मृति समारोहमा उपस्थितिका लागि अमेरिकी राष्ट्रपति र बेलायती महारानी लगायत ५० देशका राष्ट्र प्रमुखहरूलाइ निमन्त्रणा पठाइएको छ । इपर स्मृति समारोहका निम्ति बेल्जियम सरकार र इपर नगरपालिकाले विशेष योजना सहित तयारी गर्दैछ ।
सोही ठाउँ ईपरमा बेलायतीको उपनिवेशका दौरान भारतीय सेनामा रहेर लड्न आएका गोर्खा रेजिमेन्टका सैनिकहरूको मृत्यु भएको थियो, विश्वयुद्धका बखत । विश्वयुद्धमा नेपालले भाग नलिए पनि बेलायतीहरूको जागिरेका रूपमा नेपाली पुर्खाहरूको बलिदानी भएको छ । विदेशमा लाहुरे बन्नु पर्ने नेपालीहरूको नियति अझै पनि उस्तै छ । फरक यत्ति हो, पहिले बेलायतीहरूको सेनामा भर्ती भएर लाहुरेहरूले संसार चहारे अहिले आप्रवासी भएर संसारभरि बस्दैछन् ।
यसै क्रममा बेल्जियममा नेपालीहरूको बस्ती बाक्लिएपछि पुर्खाहरूको रगत बगेको ठाउँलाई अपनत्वले हेरे । पछिल्लो दशक हरेक वर्ष ईपरमा स्मृतिमा कार्यक्रमहरू गर्न थाले । विश्वयुद्धको ऎतिहासिक सम्झनामा बनाइएको स्मृति स्तम्भमा ती गोर्खाली सेनाको राष्ट्रियता भारतिय लेखिएकोमा नेपाली राजदूतावाससँगको सहकार्यमा सच्याइयो पनि । नेपालीहरूको चाखलाई देखेर स्थानिय ईपर नगरपालिका प्रशासनले गोर्खा सेनाको स्मृतिमा नेपालीपन सहितको स्मारक बनाउने योजना समाहित गरेको हो । स्वाभाविक रूपमा, ईपर नगरपालिकाले ब्रसेल्सस्थित राजदूताबाससँग सहकार्य गर्दैछ । तर जहाँ पनि झगडा गर्ने र हौवामा दौडनेहरूले ईपरमा स्मारक बनाउने कुरामा वडा स्तरको राजनीति शुरू गरे ।
जात, जिल्ला सम्पर्क, राजनीतिक पार्टी, गाउँ सम्पर्क, पेशागत इत्यादिका नाम जोडेर ५० भन्दा ज्यादा सँस्थाहरू खुलेका छन् यहाँ । ‘हाम्रो जातको मान्छे ज्यादा मरेका छन्, स्मारक हामीले बनाउनुपर्छ’, एक जातको सँगठनले माग गर्यो । ‘सबै थरि नेपालीको सँस्था हामी हो, हामीले बनाउनुपर्छ’, एनआरएन सँघले भन्यो । अरूले पनि हामी गर्छौं भनी हानथाप गरे । अन्ततः तमु समाज र एनआरएन सँघ आफ्नो अडानमा अडिग रहे । यही मौका पारेर एनआरएन बेल्जियम र ब्रसेल्स राजदूताबासलाई गाली गर्ने तुस पालेर बसेकाहरूले धित मर्ने गरि गाली गरे । गर्दैछन् । यस्तो गालीगलौज गर्नेले एनआरएन बेल्जियम र ब्रसेल्स राजदूताबासको त उछित्तो काढीरहेका छन्, कसैले त बेल्जियमका सबै नेपाली खराब भन्ने प्रचार गरेर आत्मसन्तुष्टि पनि लिए । यस्तो गालीमा उत्रनेमा राजदूतको वक्र नजर परेका जनजातिका केही सँगठन त छँदैछन्, नेपालमा निर्वाचनको विरोध गर्दै क्रान्ति गरिरहेकाहरूको धाप पनि छ । मोहन वैद्यका अनुयायीहरूले एक तीरले दुई शिकार गर्दैछन् । एक शिकार हुन् प्रचण्डको आशिर्वादमा आएका राजदूत- राममणि पोखरेल र अर्को शिकार हो– जहाँ पनि उचाल्ने र भाँजो हाल्ने प्रतिपक्षी राजनीति ।
रमाइलो कुरा के छ भने, तमु समाजले छिनाझम्टी गरिरहेको एनआरएन बेल्जियमको नेतृ पनि तमु नै हुन् । एक तमुको जातीय राजनीति गर्ने । अर्को तमु एनआरएनको राजनीति गर्छु भन्ने । तमुको जातीय राजनीति गर्नेले एनआरएन नेतृ तमुको नेतृत्वमा रहेर काम गरे पनि हुने हो । त्यसो संभव नभए सबैले जस पाउने अनेक उपाय निस्कन सक्थे । तर काम गर्नेभन्दा जस खोज्ने र चिच्याएर जित्न खोज्ने प्रवृत्तिले किचकिच मात्र बढीरहेको छ । सर्सती हेर्दा सबै काम गर्न हानथाप गर्दैछन् । तर, काम सल्टाउने भन्दा अनावश्यक रूपमा बखेडा गर्ने हुँदैछ ।
अहिले एनआरएनको चुनाव नजिकिँदै छ र एनआरएन नेतृ जानकी गुरङ्ग तमु समाजसँग मित्रालाप गर्न खोजे जस्तो छ । अस्ति एक कार्यक्रममा उनले भनिन्- ‘ईपर स्मारकबारे तमु समाजसँग मेरो केही आपत्ति छैन ।’
ईपर स्मारक बनाउने जिम्मा कसको भन्ने चाबी राजदूताबाससँग छ । बेल्जियन सरकारले स्वाभाविक रूपमा राजदूताबाससँग सहकार्य गर्ने हो । राजदूताबासले एनआरएनलाइ जिम्मा दिन खोज्नु पनि स्वाभावकै हो । सँघसँस्थाको हुलमा एनआरएनलाइ अग्रणी मानिन्छ भन्ने कुरा घाम जति कै छर्लङ्ग छ । तमु समाजले राजदूतसँग पौँठेजोरी खेलेर त्यो चाबी पाउने होइन । बरू जानकी गुरूङ्गसँग मिलेर सँयुक्त रूपमा काम गर्ने मध्यममार्गी बाटो खोजेमा सबैले ‘जस’ थाप्न पाउँथे । काम पनि स्तरिय रूपमा फत्ते हुने थियो ।
एन आर एन बेल्जियमकै नेतृत्वमा स्मारक बनाउन भनेर एउटा समिति राजदूताबासद्वारा बनाइएको थियो । ३ जना सदस्य काफी हुने काम ५५ सदस्यिय छ भनियो, सबैलाइ समेट्न होला । त्यो समितिमा संयोजक एनआरएन बेल्जियम अध्यक्ष जानकी गुरुङ र कृष्ण तिवारीको नाम सचिवका रुपमा सार्वजनिक गरियो । तर मनमुटावका कारण बाँकि नाम सार्वजनिक भएन ।
नेपालीहरूमा कसले गर्ने भनी हानथाप भए पनि, खासमा इपरको तयारी योजना मुताबिक चलिरहेकै छ । गोर्खाहरूको एक स्मारक प्रतिमा दिने कुरा मात्र नेपाली पक्षको हो । जुन खासै महङ्गो समेत नहुने बताइन्छ । सिर्फ कस्तो प्रकारको कलात्मक बनाउने भन्ने कुरा हो । यति अजटिल काममा तँछाड मछाड गरेर गाँठो पार्ने र अर्कालाइ होच्याउने काम हुनु दुःखद् छ ।

तमु समाजले इपर प्रशासनसँग स्मारक बनाउने जिम्मा पाउन आफ्नै किसीमले प्रयास गरे पनि इपर प्रशासनले चिन्ने भनेको राजदूताबास नै हो । तमु समाजको स्मारक बनाउने सदिच्छा सराहनिय छ, तर एकोहोरो जिद्दीले सफल भइन्न । नेपाली पुर्खाहरूको रगत बगेको ठाउँ इपरमा स्मारक बनाएर सद्भाव बढाउनु पर्ने ठाउँमा एक अर्काको विरूद्धमा प्रचार गरेर आफ्नै आङको छारो उढाउने विपरित काम मात्र भइरहेछ ।
– कृष्ण थापा