हरियो पासपोर्टको अवगाल

हालै लन्डनको ट्रान्जिट हुँदै अमेरिका गएर फर्केका एक मित्रलाई भेट्दा उनले भटाभट हरियो पासपोर्टलाई गाली गर्न थाले । औसत अमेरिकीको भन्दा कम आम्दानी नभएकाले पनि होला खल्तीको हरियो पासपोर्टकै कारणले दोस्रो दर्जाको पर्यटक हुनुपरेको उनको  रोइलो थियो ।
‘बिचरो हरियो रङ्गको के दोष­’ मैले वाक्य पूरा गर्न पाएको थिइन उनले काटीहाले – ‘त्यही हरियो देख्ने बित्तिकै त बाबुरामलाई समेत हङकङमा अध्यागमनले रोकिदियो र त्यही हरियो देखेर मलाई पनि लन्डन र न्युयोर्कमा बेकारको दुःख दियो ।’

passport

अध्यागमनमा पुग्दा थरीथरी रङ्गका पासपोर्ट देख्न पाइन्छ । पासपोर्टको गातोको रङ्ग देशअनुसार फरक हुन्छ । त्यसरी देशको रङ्ग कसरी निर्धारण होला भन्ने रमाइलो उत्सुकता हो । धेरै मित्रहरूले ‘पासपोर्टमा हरियो रङ्ग चाहिँ खतम नै हो’ भनेको सुनिन्छ ।
यस्तो सुनिनुमा नेपाली मिडिया र ‘जान्नेसुन्ने’ को कथनले मलजल गरेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि त्यस्तै आशयको ‘स्टाटस’ सामाजिक संजालमा राखेपछि पछिल्लो साता हरियो रङ्गको पासपोर्टको चर्चा सहरको ‘सायरी’ बनेको छ ।
अमेरिकाबाट फर्केका मित्रलाई मैले दोष हरियो रङ्गको होइन मुलुकको हैसियतको हो भनेर सम्झाउने प्रयास गरेँ । तर, उनले मुलुक कमजोर भएरै हरियो रङ्ग पाएको जिद्दी छोडेनन् । हरियो रङ्गको पासपोर्ट गरिब देशहरूकै लागि छुट्याइने हो त ?
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले पासपोर्टको साइज र ढाँचाकाँचाको निर्धारण गर्दै नियम बनाएको छ । तर, गाताको रङ्ग र डिजाइनबारे सम्बन्धित देशले नै छनोट गर्ने हो । यसरी रङ्ग छनोट गर्दा भने त्यो देशको भौगोलिक, राजनीतिक वा धार्मिक कारणले भूमिका खेलेको देखिन्छ । कम्युनिस्ट पृष्ठभूमि भएका देशले रातो रङ्ग रोजेको पाइन्छ भने अमेरिका, क्यानडा, अस्ट्रेलिया, ब्राजिल जस्ता नयाँ संसार मानिने देशहरू निलो रङ्गमा आकर्षित भएका छन् । मुस्लिम देशहरूमा हरियो रङ्ग लोकप्रिय छ । भनिन्छ, मुस्लिम धर्मगुरू मोहम्मद हरियो रङ्ग मन पराउँथे ।
त्यसैले केही मुस्लिम देशले झन्डामा समेत हरियो रङ्ग रूचाएका हुन्छन् । साउदी अरेबिया, मोरक्को, पाकिस्तान, इजिप्ट, बंगलादेशजस्ता मुस्लिम देशहरूको पासपोर्ट नेपालको जस्तै हरियो छ । नेपालले हरियो रङ्ग छान्नुको कारण भने सजिलै अन्दाज गर्न सकिने खालको छैन, तैपनि प्रष्ट के छ भने नेपालले हरियो रङ्ग त्यागेर अमेरिका वा युरोपेली देशको जस्तो रङ्ग छान्न चाहे मुलुक स्वतन्त्र छ । अमेरिकाले अहिलेको निलो रङ्ग लिनुअगाडि हरियो रङ्ग प्रयोग गरेको थियो । यस्तै ६ वर्षअघिसम्म ब्राजिलले हरियो रङ्ग कै राहदानी जारी गर्थ्यो ।
क्षेत्रिय संगठनका आधारमा पनि पासपोर्टको रङ्ग छनोट र समायोजन गरेको भेटिन्छ । जस्तो, युरोपियन युनियनका सबै सदस्य राष्ट्रहरूले गाढा रातो (वाइनको जस्तो) रङ्ग अंगीकार गरेका छन् भने क्यारेबियन समुदायका देशहरूले गाढा निलो रङ्ग ।
रङ्गभन्दा पनि त्यो देशको स्वीकार्यताले पासपोर्ट शक्तिशाली हुन्छ । जब पासपोर्टको गातोमा कुनै ग्राह्य मुलुकको नाम देखिन्छ अध्यागमन अधिकारीहरूको धारणा सकारात्मक बन्छ ।
नागरिकता र योजनासम्बन्धी अध्ययन गर्ने संस्था ‘हेन्ले एन्ड पार्टनर्स’ ले देशहरूको ग्राह्यताका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भनेर श्रेणी प्रकाशन गर्ने गर्छ । सन् २०१६ को रिपोर्टमा संसारका २१८ देश (वा स्वायत्त भूभाग) मध्ये १७७ देशमा अग्रिम प्रवेशाज्ञा (भिसा) नचाहिने जर्मन पासपोर्टलाई सर्वाधिक शक्तिशाली मानेको छ । स्विडिस नागरिकहरूलाई १७६ देशमा त्यस्तो सुविधा छ भने १७५ देशमा अग्रीम भिसा नचाहिने बेलायत, फ्रान्स, इटाली, स्पेन र फिनल्यान्ड तेस्रो श्रेणीमा रहेका छन् । त्यस्तै अमेरिकासहित बेल्जियम, डेनमार्क र दी नेदरल्यान्डस् चौथो शक्तिशाली स्थानमा छन् र १७४ देशमा बिना अग्रिम भिसा ग्राह्य छन् ।
संसारको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको हो । अफगानी नागरिक बिना भिसा २५ देशमा मात्र स्वीकार्य छन् ।
सातौं कमजोर श्रेणीमा रहेको नेपाली पासपोर्ट वाहकलाई ३७ देशमा जान अग्रिम भिसा अनुमति चाहिँदैन । हरियो रङ्गकै पासपोर्ट भएको दक्षिण अफ्रिकाका नागरिक ९७ देशमा बिनाभिजा स्वीकार्य छन् । देशको सुदृढ आर्थिक अवस्था र राजनीतिक स्थिरताले देशको पासपोर्टको स्वीकार्यता बढाउने हो । यस्ता मापदण्डमा सुधार नभएसम्म हरियो रङ्ग बदली र गातोको बुट्टा जति चिटिक्क पारे पनि नेपाली नागरिकको पीडा उस्तै हो ।

– पंचम अधिकारी