ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्। उनको जितलाई धेरैलेtrump आश्चर्यको रुपमा हेरेका छन्। ४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्।

उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले २१८ इलेक्टोरल मत पाएकी छन्। ७० वर्षे व्यापारी ट्रम्पले जनवरी २०, २०१७ मा शपथ लिएर औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिका रुपमा काम थाल्नेछन्। ट्रम्पले यसअघि निर्वाचित सार्वजनिक पद र सेनामा कहिल्यै काम गरेका थिएनन्। त्यस्तो पृष्ठभूमि नभएको व्यक्ति अमेरिकामा राष्ट्रपति चयन भएको यो पहिलोपटक हो।

रिपब्लिकन वा डेमोक्र्याटिक कुन पक्ष भनेर नखुलेका राज्यहरुले ट्रम्पलाई जिताएपछि उनको ह्वाइट हाउस यात्रा सहज भएको हो। फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइनामा उनले जित हात पारेका थिए। ट्रम्पले आफ्नो चुनावी मुख्यालयमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै जनताको अपेक्षामा खरो उत्रने बताए।

उनले अमेरिकाको आर्थिक वृद्धिदर दोब्बर पार्ने प्रतिवद्धता जनाए। उनले आफूसंग चुनावी अभियानका क्रममा असहमतहरुसंग मिलेर मुलुकलाई एकतावद्ध पार्न काम गर्ने बताए। उनले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले आफूलाई फोन गरेर बधाई दिएको भन्दै मुलुकका लागि उनले गरेको सेवाको प्रशंसा गरे।

डोनल्ड ट्रम्पको जीवनी

डोनल्ड ट्रम्पको जन्म एक धनाढ्य घरजग्गा व्यापारीका चौथो सन्तानको रुपमा न्यूयोर्क शहरमा भएको थियो। उनी न्यूयोर्कमैं हुर्किएका थिए।

उनले आफ्नो परिवारको व्यापार र धन-सम्पत्तिलाई ब्रुकलीन र क्वीन्सबाट म्यानहाटनमा सारेका थिए। चमक-धमकपूर्ण म्यानहाटनकै फिफ्थ् एभेन्युमा ट्रम्प टावर रहेको छ।

उनले होटेल र क्यासिनोहरुमा गरेको लगानी एकताका डुब्ने अवस्थामा समेत पुगेको थियो।

फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धन-सम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धन-सम्पत्ति भएको दावी गर्दै आएका छन्।

‘दी एप्रेन्टीस’ नाम गरेको कार्यक्रम चलाएर ट्रम्प अमेरीकी टेलिभिजनका एक परिचित अनुहार बनेका थिए।सत्तरी वर्षिय ट्रम्पकी वर्तमान श्रीमती मोडल मेलनीया नस हुन्।राष्ट्रपतिको चुनावमा होमिएपछि ट्रम्पले निकै उत्तेजनात्मक प्रकृतिको प्रचार-प्रसार शैली अपनाएका थिए।

त्यसक्रममा उनले अमेरिकी अर्थतन्त्रलाई सुदृढ तुल्याउने, मेक्सीकोसँगको सिमानामा पर्खाल ठड्याउने र मुसलमान समुदायलाई अस्थायीरुपमा अमेरिका प्रवेश निषेध गर्ने प्रतिज्ञा गरेका थिए।

अहिले सत्तरी वर्ष पुगेका ट्रम्पको तीन पटक विवाह भइसकेको छ। उनकी वर्तमान श्रीमती एक मोडल, मेलनीया नस हुन्।

विश्व नेताहरुद्वारा ट्रम्पलाई बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई एउटा टेलिग्राम पठाएर रुसी अमेरिकी सम्बन्धलाई संकटबाट उतार्नका लागि मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन्।

कैयौं विश्व नेताहरुजस्तै युरोपेली संघका नेताहरुले ट्रम्प राष्ट्रपति चुनिने अपेक्षा गरेका थिएनन्। यद्यपि युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्क र युरोपेली आयोगका अध्यक्ष क्लोड युंकरले बधाई ज्ञापन गर्दै युरोप भ्रमण गर्ने निमन्त्रणा पठाएका छन्।

जर्मनीका राजनीतिक तथा व्यापारिक समुदायले डोनाल्ड ट्रम्पको जीतप्रति आश्चर्य व्यक्त गरेका छन्। जर्मन समाचारपत्रहरुले ट्रम्पका नीतिहरुले विश्व अर्थव्यवस्थामा अस्थिरता उत्पन्न गर्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।

जर्मन चान्सलर एङ्गेला मर्केलले राष्ट्रपति पदमा निर्वाचित ट्रम्पलाई बधाई ज्ञापन गरेकी छिन्। तर उनले त्यस्तो मित्रता, उनकै शब्दमा, दुबै देशका साझा मूल्य, मान्यताहरुमा आधारित हुने अपेक्षा पनि व्यक्त गरेकी छिन्।

इजिप्टका राष्ट्रपति अब्दल फतह अल सिसिले ट्रम्पलाई उनीमाथि विश्वास गरेका “मित्रवत अमेरिकी जनता”को सेवामा सफलताको शुभकामना दिएका छन् र अमेरिका र युरोपको सम्बन्ध पुनर्जागृत गर्ने अपेक्षा गरेको बताएका छन्।

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले एउटा वक्तव्य दिंदै निर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई बधाई दिएको र उनको कार्यकालमा शान्ति स्थापना हुने आशा राखेको बताएका छन्।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाको दुईपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु-याउन ट्रम्पसंग नजीकको सहकार्य गर्ने अपेक्षा गरेको बताए।

चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ता लु काङले चीन र अमेरिकाको स्वस्थ र स्थीर सम्बन्ध अघि बढाउनका लागि नयाँ अमेरिकी प्रशासनसंग मिलेर काम गर्ने अपेक्षा गरेको बताए, तर उनले डोनल्ड ट्रम्पको नाम भने लिएनन्।

न्यूजीलण्डका प्रधानमन्त्री जोन कीले ट्रम्पलाई बधाई दिएका छन् भने अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले अस्ट्रेलिया अमेरिकाको सबभन्दा बलियो समर्थक र राम्रो साथी भएको कुरा अमेरिकीहरुले बुझ्नु पर्ने बताएका छन्।

टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले ट्रम्पलाई अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनलाई टर्कीलाई जिम्मा लगाउन आह्वान गरेका छ्न्।

ट्रम्पले सार्वजनिकरुपमै रुसी राष्ट्रपति पुटिनको समर्थन गरेका थिए।

बीबीसीक लीस डुसेट भन्छिन्, राष्ट्रपति ट्रम्पको विदेश नीतिको पहिलो परीक्षा सिरियाली शहर अलेप्पोमा हुनेछ, जहाँ रुसी समर्थनप्राप्त सिरियाली सैन्यले पश्चिमा समर्थन प्राप्त विद्रोहीहरुमाथि हवाइ हमला जारी राखेका छन्।

त्यस्तै जलवायु परिवर्तन न्यून गर्न गरिएको अन्तर्राष्ट्रिय संझौतादेखि इरानसंगको अणु अस्त्र संझौताको भविष्यबारे पनि आशंका व्यक्त गरिएका छन्। बीबीसी