नेताहरु सहमतिका लागी मंगलग्रह र चन्द्रमा बाहेक सबै स्थान पुगिसके: सभामुख

संविधानसभाका अध्यक्ष सुभासचन्द्र नेवाङले थपिएको समयमा दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् ।

यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्ट तथा यशोदादेवी भगवान सिंह मेमोरियल बृद्धाश्रमले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष नेवाङले दलका नेताहरुमा इमान्दारिता भए दुई घण्टामै कुरा मिल्न सक्ने बताए ।

subash-nembangउनले आफूसँगको छलफलमा दलका नेताहरु सहमतिका लागि एक दिनको समय पर्याप्त हुने बताउने तर काम नगर्ने प्रवृत्ति दुःखद भएको बताए । उनले दलका नेताहरु सहमति जुटाउनका लागि मंगलग्रह र चन्द्रमा बाहेक सबै स्थान पुगिसकेको भन्दै व्यङ्ग्य गरे ।

कार्यक्रममा कांगेस नेता एवं ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले राष्ट्रिय हित विपरीत सहमति हुन नसक्ने भन्दै सहमतिबाट संविधान बन्ने सम्भावना पनि कम रहेकाले प्रक्रिया थाल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नुवाकोट तथा रसुवा जिल्ल्लाबाट २०७० सालको एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रममा ट्रस्ट तथा बृद्धाश्रम निर्माणका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको अध्यक्षतामा ट्रस्ट बनाएर केसी परिवारले व्यक्तिगत रुपमा समाजिक काम गर्दै आएका छन् ।

अध्यक्ष केसीले अब ट्रस्टले देशभर सामाजिक काममा क्रियाशीलता बढाउने बताए ।