संविधान अनुसार गएको भए देशलाई बचाउन सक्ने थिएनौं: पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक शक्तिहरुले देशले पछिल्लो पटक प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरु सहीRam-Baran-Yadav ढंगले संस्थागत हुन नसकेको बताएका छन्। शीतल निवासबाट बाहिरिएपछिको सबैभन्दा कडा ठानिएको आफ्नो टिप्पणीमा यादवले महत्वपूर्ण राजनीतिक मोडहरुमा प्रमुख दलहरुले आफ्नो सुझावलाई बेवास्ता गर्दा मुलुक गहिरो संकटमा फसेको भन्दै आक्रोश व्यक्त गरे।

पूर्व सेनापति छत्रमानसिंह गुरुङ्गको ‘जनताको छोरो’ नामक आत्मकथा विमोचनका लागि निम्त्याइएका यादवले करिब एक घण्टा लामो भाषण मुलुकको समस्या र राजनीतिक दलहरुको आलोचनामा केन्द्रित गरेका थिए।

दलहरुले केवल सत्ताकेन्द्रित राजनीति गरेर राज्यकै महत्वपूर्ण निकायहरुलाई कमजोर पार्दा उपलब्धिहरु संस्थागत गर्न जटीलता आएको टिप्पणी गर्दै उनले भने, “सिर्फ लोकतन्त्र, गणतन्त्र र कानुनको शासनको रटान लगाउने र संस्थाहरुलाई कमजोर गराउँदै जाने?”

पहिलो संविधानसभा विघटनदेखि लिएर नयां संविधान घोषणासम्मका कयौं महत्वपूर्ण राजनीतिक मोडमा राष्ट्रप्रमुखको हैसियतमा आफूले दिएको सुझाव दलहरुले बेवास्ता गरेको गुनासो गर्दै गर्दा यादवको अभिव्यक्तिमा आक्रोश प्रष्ट झल्कन्थ्यो।

तराई केन्द्रित दलको असन्तुष्टिका माझ संविधान जारी गरेका दलहरुलाई उसबेला आफूले दिएको सुझाव सुनाउँदै उनले भने, “मधेशको समस्या देशभित्र समस्या हो, यसलाई समाधान गरिएन भने पोखिन्छ र मैले बाहिर पोखियो भने नराम्रो हुन्छ भनेको थिए।” तर तराई केन्द्रित दल पनि उनको आक्रोशको निशानामा परे।

सीमानाका अवरोधजस्तो अस्त्र प्रयोग गरेको र केवल प्रतिनिधित्वको चिन्ता गरेको भन्दै उनीहरुको आलोचना गरेका यादवले हाल जारी राजनीतिक गतिरोधको हल संसदबाटै खोज्न सुझाव दिए।

न्यायालय, विश्वविद्यालय तथा राजदूत नियुक्तिमा देखिएका बेथितिसम्मको प्रसंग छोएका यादवले चर्चित र विवादास्पद सेनापति प्रकरणमा आफ्नो कदमको बचाव पनि गरे।

त्यस अवसरमा उनले आफूले तत्कालीन सेनापति रुक्माङगद् कटवालको बर्खास्ती रोक्दा संविधानको अवज्ञा गरेको कुरा सांकेतिक रुपमा पहिलोपटक स्वीकार गरेका थिए।

तर सेनालाई ध्वस्त हुनबाट आफूले जोगाएको उनको दावी थियो, “संविधान अनुसार गएको भए देशलाई बचाउन सक्ने थिएनौं। किन कि त्यसबेला वास्तवमा देशमा दुईवटा थिए।”

पूर्वसेनापति गुरुङ्गले आफ्ना पूर्ववर्ती कटवालले पदावधि लम्ब्याउन खोजेको भनी आफ्नो पुस्तकमा राखेको विवरणबाट सेनाका यी दुई पूर्व प्रमुखबीच चीसो सम्बन्ध रहेको लख काटिएको छ। अवकाशप्राप्त सेनापति र उच्चसैन्यअधिकारीहरुको बाक्लो उपस्थितिमा कटवाल भने देखिएनन्।