मन्दिरमा आगलागी, सय भन्दा बढीको मृत्यु

भारतको केरलास्थित कोल्लम जिल्लाको एक मन्दिरमा आगलागीबाट एक सयभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । कोल्लम जिल्लाको प्रहरीले स्थानीय पत्रकारहरुलाई बताएअनुसार आगलागीमा परि मृत्यु हुनेको संख्या १०८ पुगेको जनाएको छ।

मृतकहरुमा प्रहरी पनि छन्। घटनामाथि अनुसन्धान गर्ने आदेश दिईएको छ। घटनामा करिब २ सय जना घाइते भएको प्रहरीको भनाइ छ। कोल्लमका प्रहरी अधिकृत लालजीले बीबीसी हिन्दीलाई बताए अनुसार पारावुरस्थित पुत्तिंगल देवी मन्दिरमा पटाकाको थुप्रोमा आगो लागेपछि उक्त दुर्घटना भएको हो।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार आइतबार बिहान करिब तीन बजे आगलागीको घटना भएको थियो। मन्दिरको वार्षिकोत्सवको क्रममा मन्दिर परिसरमा मध्यरातदेखि आतिसबाजी सुरु भएको थियो र त्यो दृश्य हेर्न सयौं मानिस भेला भएका थिए।

आतिसबाजी सकिने बेलातिरै भण्डारणस्थलमा भीषण विस्फोट भएको थियो। उक्त भण्डारणस्थलमा पटाकाहरु राखिएका थिए। तर मन्दिरमा पटाकाहरु पड्काउने अनुमति अधिकारीहरुले नदिइएको जिकिर गरेका छन्।