‘शान्ता’ उपन्यासको दोस्रो संस्करण, अनलाइन संस्करण र अङ्ग्रेजी अनुवाद

purushottam-dahalवरिष्ठ पत्रकार एवम् मानवअधिकारकर्मी पुरुषोत्तम दाहालद्वारा लिखित ‘शान्ता’ उपन्यासको दोस्रो संस्करण बजारमा आएको छ ।अङ्ग्रेजी अनुवादसमेत प्रकाशोन्मुख रहेको ‘शान्ता’ उपन्यासको दोस्रो अनलाइन संस्करण पनि आजै सार्वजनिक गरिएको छ ।

मानवीय संवेदना, विवेक र अङ्गदानसँग जोडिएको ‘शान्ता’ उपन्यासले खासगरी विवेक र अविवेकबीचको सङ्घर्षलाई उतारेको छ । यस्तै बचाउने र बाँच्ने इच्छाजनित उत्कर्षको संवेदनालाई पात्र, स्थान, घटना र अनुभूतिको यथार्थभित्र समेटेको छ उपन्यासले ।

लेखक दाहालकी श्रीमती शान्ताले कलेजोको क्यान्सरबाट पीडित मामालाई कलेजो दान गरेको विषयमा उक्त उपन्यास लेखिएको छ । सगरमाथा वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको २२८ पृष्ठको पुस्तकको मूल्य रु ३६० रहेको छ । लेखक दाहालले ‘शान्ता’ उपन्यासमा मानवीय विवेक र संवेदनासँगै अन्तिममा विवेकको विजयका रुपमा लेखिएको बताउनुभयो ।

उपन्यासको आज एक कार्यक्रमका बीच पूर्व मुख्यसचिव विमल कोइरालाले सार्वजनिक गर्दै यथार्थ घटनामा आधारित जिवनी उपन्यास ‘शान्ता’ नेपाली साहित्यिक क्षेत्रको सार्थक कृति भएको बताउनुभयो ।जीवनलाई दर्शनका रुपमा मात्र नहेरी जीवनको वास्तविक भोगाईलाई उपन्यासले उजागर गरेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरेले उपन्यास पढ्ने संस्कार घट्दै गइरहेको सन्दर्भमा चुनौतीका साथ आएको ‘शान्ता’ ले साहित्य क्षेत्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । देवकोटा फाउन्डेसनका उपाध्यक्ष डा दुर्गाप्रसाद अर्यालले ‘शान्ता’ उपन्यास नेपाली साहित्यमा उत्कृष्ट कृति भएको बताउनुभयो ।

महेन्द्रनारायण निधि अस्पतालका सञ्चालक भानुभक्त ढकालले सामाजिक सत्कर्मको भाव बोकेको उपन्यास स्वार्थ र पापमा दौडिरहेको समाजका लागि पाठ सिकाउने दरिलो माध्यम भएको उल्लेख गर्नुभयो ।