नारी सौन्दर्य पुस्तक

nari bookसुन्दर बन्ने चाहना कुन युवतीमा नहोला र ? यही सुन्दर बन्ने चाहनामा युवतीहरू आफ्नो सुन्दरतालाई निखारता दिन महँगो शुल्क तिरेर पार्लर धाउने गर्छन्। तर पनि सोचेजस्तो सन्तुष्टि पाउन सकेका हुँदैनन्। यही कुरालाई ध्यानमा राखी सौन्दर्यविद् संगीता श्रेष्ठले ‘नारी सौन्दर्य विज्ञान’ नामक पुस्तक बजारमा ल्याएकी छिन्।

समयको परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थता, उदासीनताले अधिकांश मानिस तनावग्रस्त रहन्छन्। त्यसमा पनि महिलाले त दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उनीहरू अझ तनावग्रस्त रहने गर्दछन्। यसका कारण सौन्दर्यमा दुष्प्रभाव अझ बढी परिरहेको हुन्छ। अझ मध्यमवर्गीय परिवारका युवतीहरू राम्रो ब्युटिपार्लरको सेवाबाट पनि वञ्चित हुने गरेका छन्। जोसँग समय, पैसा वा यी दुवै कुराको अभाव छ, जसले कुनै ब्युटिपार्लरमा गएर सौन्दर्यलाई उजागर गर्न सकेका हुदैनन्। उनीहरूको लागि यो पुस्तक ब्युटिपार्लर कोर्सको रूपमै लिन सकिन्छ।

यस पुस्तकमा टाउकाको कपालदेखि खुट्टाको नङसम्मका प्रशोधन सामग्रीबारे जानकारी गराउने उत्कृष्ट सूत्रहरू लेखिएको हुनाले व्यस्तताका बाबजुद घरमै बसेर आफ्नो सुन्दरतालाई उजागर गर्न निकै सहयोगी पुस्तकको रूपमा देखिएको छ।

रु. २९५ मूल्य रहेको यस पुस्तकमा महिलाको बाहिरी सुन्दरताको बारेमा मात्र नभएर भित्री सुन्दरलालाई पनि कसरी निखारता दिने भन्ने विषयमा स्तरीय टिप्स दिनुका साथै कस्तो घरमा लक्ष्मीको आगमन हुन्छ र कस्तो घरमा लक्ष्मीको बहिर्गमन हुन्छ भन्नेजस्ता पौराणिक रहस्यका कुराहरूलाई पनि केलाउने प्रयत्न गरिएको छ। सौन्दर्यका यिनै विविध पक्षहरूलाई समेटेर कलम चलाएकी अनुभवी ब्युटिसियन संगीता श्रेष्ठद्वारा लिखित उक्त पुस्तकलाई गोदावरी बुक्स सेन्टरले बजारमा ल्याएको हो।